ठगी तथा संगठित अपराध कसुरमा पूर्वश्रममन्त्रीद्वय र सचिवसहित ६ जना पक्राउ
१ अर्ब ६९ करोड अपचलन भएको दाबी
प्रहरीका अनुसार गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।
काठमाडौं । ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीले २ पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गरेको, गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्य गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पूर्व सीआईबीले अदालतबाट स्वीकृति लिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्धय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।
सीआईबीका अनुसार विकास रनाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा ठगी गरी रकम संकलन गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो । उनीहरु मंसिर २ गते काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ परेको सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले बताए ।