३ लाख ४५ हजार घुस प्रकरणमा जलस्रोत कार्यालयका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगले सेवाग्राहीबाट तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा छैटौँ तहका प्राविधिक अधिकृत गजेन्द्रप्रसाद जायसवाल र विक्की यादवविरुद्ध मंसिर २ गते आरोप पत्र दायर गरेको हो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्जका दुई प्राविधिक अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सेवाग्राहीबाट तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा छैटौँ तहका प्राविधिक अधिकृत गजेन्द्रप्रसाद जायसवाल र विक्की यादवविरुद्ध मंसिर २ गते आरोप पत्र दायर गरेको हो ।
पर्साको ठोरी गाउँपालिका-३ मा सञ्चालित जलस्रोत पुनर्भरण तथा भण्डारण योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिन र धरौटी रकम फिर्ता गर्न उनीहरूले घुस मागेको आयोगको आरोप छ । आर्थिक वर्ष २०८२-८३ को उक्त योजनामा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारको काम समेटिएको थियो ।
आयोगका अनुसार दुवै अधिकृतको मिलेमतोमा सेवाग्राहीसँग रकम मागिएको थियो । रकम बुझाउने क्रममा जायसवालले कार्यालय समयमा पैसा लिन नमिल्ने भन्दै त्यहीँ रहेका अर्का व्यक्तिलाई रकम दिन भनेको र सोहीबमोजिम रकम बुझाइएको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।
आयोगले तीन लाख ४५ हजार रुपैयाँ बिगो कायम गर्दै दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र बिगो बराबर जरिवाना गर्न माग गरेको छ ।