महँगीको मारमा उपभाेक्ता: मूल्यवृद्धि ६.३७ प्रतिशत पुग्दा आकाशियो घ्यूतेलको भाउ

एक वर्षमै घ्यू-तेल १६ र फलफूल १५ प्रतिशतले महँगो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको भए पनि महँगी नियन्त्रणमा चुनौती थपिएको छ । आर्थिक वर्षको पहिलो तीन महिनामै औसत मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ भने असोजमा वार्षिक विन्दुगत मुद्रास्फीति ६.३७ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो । यसले एक वर्षको अवधिमा उपभोक्ता मूल्यवृद्धिको चाप उल्लेख्य रूपमा बढेको देखाउँछ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत मात्रै थियो ।

घ्यूतेल र फलफूलको मूल्यवृद्धि उच्च

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घ्यू तथा तेलको मूल्य बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.४४ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गैरखाद्य तथा सेवा समूहमा यातायात उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिएको छ । यस समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.९७ प्रतिशतले बढेको छ । त्यस्तै, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्य बढेको छ ।

तराईमा सबैभन्दा बढी महँगी

भौगोलिक क्षेत्रअनुसार हेर्दा असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको ६.२८ प्रतिशतले बढेको छ । क्षेत्रगत रूपमा तराईमा सबैभन्दा बढी ६.८८ प्रतिशत मुद्रास्फीति देखिएको छ । त्यस्तै, पहाडमा ६.१४ प्रतिशत, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।