बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छ: महेश बस्नेत

उनले वर्षायामको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गरे । उनले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाए ।

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् ।

एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन् । उनले वर्षायामको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गरे ।

उनले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाए । सुकुम्बासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उनले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गरे । उनले बङ्गलादेशमा हाल भइरहेको आन्दोलनको प्रसङ्ग निकाल्दै सुकुम्बासी, गरिब तथा युवाहरूको माग सरकारले सम्बोधन नगरे नेपालमा पनि त्यस्तो घटना हुन सक्ने बताए ।

उनले सरकारले भोटेकोशीका बाढीपीडितलाई राहत दिन नसकेको पनि बताए । प्रधानमन्त्री राहत कोषमा १७ अर्ब जम्मा भए पनि बाढीपीडितले खान नपाएर भोकै बस्नुपरेको उनको भनाइ छ । उनले वैदेशिक शक्तिहरूले एमालेविनाको देश बनाउन खोजेको पनि आरोप लगाए । तर, एमालेविनाको देश र केपी ओलीविनाको एमाले बनाउन कसैले नसक्ने उनको दाबी छ ।

वैदेशिक शक्तिहरूले ओली र एमालेमाथि आक्रमण गरेर ओलीविनाको नेपाल, एमाले र युवा शक्ति निर्माण गर्न खोजेको उनको आरोप छ । उनले एमालेभित्र ओलीको विकल्प खोज्नेलाई कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गरे ।

उनले केपी ओलीले देश विकास गरेको देखेर प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरेको आरोप लगाए । केपी ओलीले राष्ट्रियताको प्रतीकका रूपमा भूमिका खेलेको उनको दाबी छ ।