नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’ सम्बन्ध हो, प्रधानमन्त्रीको भ्रमणले प्रवद्र्धन गर्नुपर्छ: भारतीय पत्रकार

भारतीय अग्रज सञ्चारकर्मी तथा पत्रकारहरुले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व दिई आफ्‌ना धारणा अभिव्यक्त गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(वालेन)को आसन्न भारत भ्रमणलाई नेपालमा जति अभिरुचीपूर्वक हेरिएको छ, भारतमा पनि यो आसन्न भ्रमण त्यतिकै चासोको विषय बनेको छ । भारतीय अग्रज सञ्चारकर्मी तथा पत्रकारहरुले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व दिई आफ्‌ना धारणा अभिव्यक्त गरेका छन् । 

यही मङ्सिर ६ गते दुई दिने भारत यात्राका लागि प्रस्थान गर्न गइरहेका प्रधानमन्त्री शाहको भ्रमणका सन्दर्भमा भारतीय अग्रज पत्रकारहरुले भ्रमण दुबै देशका लागि उपलब्धिमूलक हुने अपेक्षा गरिएको बताए । उनीहरुका अनुसार नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’ को सम्बन्ध हो भन्दै यो सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण केन्द्रित हुनुपर्ने बताए । उनीहरुले नेपाली प्रधानमन्त्रीको यो भ्रमण राजनीतिकरुपमा मात्र सीमित नरही व्यवहारिकरुपमा पनि महत्वपूर्ण ठहरिन सक्नुपर्ने सुझाव दिएका छन् ।  

भारतीय पत्रकार युनियन (इण्डियन जर्नलिस्ट युनियन)का अध्यक्ष तथा प्रेस काउन्सिल इन्यिाका सदस्य एवं भारतको आसाम प्रान्तका गोहाटीमा रहेर पत्रकारिता गर्ने वरिष्ठ पत्रकार गीतार्थ पाठकले प्रधानमन्त्री बालेनको भ्रमण केवल कूटनीतिक औपचारिकतामा मात्र सीमित नरहन अपेक्षा गर्दे दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध, आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धतामार्फत मात्र फस्टाउन सक्ने बताए । 

यस्तै भारतको संघीय राजधानी नयाँ दिल्लीकेन्द्रित वैदेशिक मामिलामा रिपोर्टिङको लामो अनुभव सँगालेका स्वतन्त्र अग्रज पत्रकार उमाशंकर सिंहले वर्तमान समयमा भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको ठूलो संकटबाट गुज्रिरहेको बताउँदै नेपालका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध सुधारका दिशामा सहजीकरा गर्ने अपेक्षा राखे । 

यसैगरी बिहार प्रान्तको मुजफ्फरपुरकेन्द्रित वरिष्ठ पत्रकार तथा नेपाली र भारतीय पत्रकारहरुको साझा संस्था मिडिया फर बोर्र्डर हार्मोनीका अध्यक्ष अंमरेन्द्र तिवारीले भारत–नेपाल सीमामा शताब्दिीयौँदेखि चल्दै आएको ‘छाटी भन्सार’ व्यवस्थालाई पुनः सक्रिय गर्न र यसबाट साना व्यापारी र आम नागरिकलाई आवतजावतमा भइरहेको समस्या कम गर्न पहल गरी सीमा क्षेत्रमा रोजगारी बढाउन नेपालका प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । 

भारत उत्तराखण्डको पिथौरागढ केन्द्रित अग्रज पत्रकार तथा दैनिक भास्करका जिल्ला प्रभारी राजेश पंगरियाले प्रधानमन्त्री बालेनको यो भ्रमण् केवल औपचारिक भेटघाटमा मात्र सीमित नरही यसको लाभ सीमावर्ती क्षेत्रका आम नागरिकसम्म पुग्नुपर्ने बताए ।

यस्तै भारत–नेपाल सम्बन्धमा लामो समयदेखि काम गर्दै आएकी भारतको पश्चिम बङ्गालस्थित कोलकातामा रहेर पत्रकारिता गर्ने दार्जिलिङ टुडेकी सम्पादक इन्द्राणी दास गुप्ताले प्रधानमन्त्रीको यो भ्रमण नेपाल र भारत दुवैका लागि ठूलो अपेक्षाको विषय भएको बताइन् । 

वरिष्ठ पत्रकार गीतार्थ पाठकसँग गरेको कुराकानीको संपादित अंश:

आर्थिक विकास, जलविद्युत, ऊर्जा व्यापार, पूर्वाधार, सडक तथा रेल सञ्जाल, पर्यटन, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्यका लागि प्रचुर सम्भावना छ । संयुक्त सैन्य अभ्यास, सीमा व्यवस्थापन र जनस्तरको आदान–प्रदानलगायत रक्षा तथा सुरक्षासम्बन्धी सहकार्यमा पनि विशेष ध्यान दिनुपर्छ । सांस्कृतिक आदान–प्रदानले दुई समाजबीचको परम्परागत सम्बन्धलाई अझ सुदृढ बनाउन सक्छ । 

यसैगरी, दुवै मुलुकले विद्यमान समस्याहरू—विशेष गरी कालापानी–लिम्पियाधुरा र सुस्तासम्बन्धी सीमा विवाद, नेपालको व्यापार असन्तुलन, पारवहन तथा हवाई सम्पर्कसम्बन्धी विषयहरू, अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्दृेश्यीय परियोजनालाई सम्बोधन गर्नुपर्छ । विकाससम्बन्धी बाँकी रहेका प्रतिबद्धताहरूलाई तीव्रता दिनु र बाढीपछिको पुनर्निर्माणमा भारतले सहयोग पुर्‍याउनु तत्कालका प्राथमिकता हुनुपर्छ । यो भ्रमण केवल कूटनीतिक औपचारिकतामा मात्र सीमित रहनु हुँदैन; यसबाट ठोस नतिजा निस्कनुपर्छ । दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धतामार्फत मात्र फस्टाउन सक्छ ।

अग्रज पत्रकार उमाशंकर सिंहसँग गरेको कुराकानीको संपादित अंश :

भारत र नेपालबीच ‘राटी–बेटी’ को सम्बन्ध रहिआएको छ । परम्परागत राजनीतिक व्यवस्थाअन्तर्गत नेपालका पुराना प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई पहिले मूलतः एक सामान्य द्विपक्षीय भ्रमणका रूपमा लिने गरिन्थ्यो । तर यसपटक नेपालका प्रधानमन्त्री बालेन शाहको भ्रमणले निकै चर्चा बटुलिरहेको छ । यसको पछाडिको सबैभन्दा ठूलो कारण के हो भने, वर्तमान समयमा भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको ठूलो संकट बाट गुज्रिरहेको छ ।

‘जेन–जी’ आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री बन्नु, सुरुवातदेखि नै भारतसँग एक प्रकारको दूरी बनाएर हिँड्ने उनको रवैया, भारतीय राजदूत र विदेश सचिवसँग भेटघाट गर्न अस्वीकार गरेकाजस्ता खबरहरू बाहिरिनु—यी सबै कुराले दुई देशबीचको विश्वासको संकट (ट्रस्ट डेफिसिट) लाई बढाउने काम गर्‍यो । यहाँसम्म कि भारतमा हुने युवाहरूको आन्दोलनलाई नेपालको ‘जेन–जी’ जस्तो आन्दोलनसँग जोडेर हेरिँदा यहाँको मोदी सरकार असहज महसुस गर्छ, जुन एक छुट्टै विषय हो । तर काठमाडौँको मेयर रहँदा बालेन शाहले आफ्नो कार्यकक्षमा ‘गटर नेपाल’ को जुन नक्सा राखे, त्यसले पनि बालेन शाहलाई भारतप्रति मित्रवत् मानिएन, जबकि त्यो ‘अखण्ड भारत’ को नक्साको एक किसिमको जवाफ थियो ।

अर्को एउटा पक्ष के हो भने, कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई लिएर पहिलेदेखि नै जारी विवाद र चीनतर्फ नेपाल सरकारको झुकावको पृष्ठभूमिले अविश्वासको खाडललाई अझ फराकिलो बनायो ।

यद्यपि, भोटेकोशी बाढीपछि भारतका तर्फबाट गरिएको सहयोगको प्रधानमन्त्री शाहले प्रशंसा गरे, जसले गर्दा सम्बन्धमा जमेको बरफ केही पग्लियो । अब यो भ्रमणलाई भारत–नेपाल सम्बन्धलाई ‘रिसेट’ (पुनः सुरुवात) गर्ने अवसरका रूपमा हेरिएको छ । आर्थिक प्याकेज र कनेक्टिभिटीका मुद्दामा दुवै देशबीच कस्तो प्रगति हुन्छ, त्यो हेर्न बाँकी छ । नेपालका लागि अतिरिक्त हवाई प्रवेश मार्गका सन्दर्भमा कस्तो प्रकारको सहयोग र सम्झौता सामुन्ने आउँछ, त्यो महत््वपूर्ण हुनेछ । समग्रमा दुवै देशबीच आपसी विश्वासको पुनर्बहाली होस, यो एक मजबुत द्विपक्षीय सम्बन्धका लागि सबैभन्दा आवश्यक शर्त हो । 

वरिष्ठ पत्रकार अमंरेन्द्र तिवारीसँग गरेको कुराकानीको संपादित अंश :

नेपालका प्रधानमन्त्री बालेन शाह छिट्टै भारत भ्रमणमा आउँदै छन । यो भ्रमण केवल कूटनीतिको महत्वको मात्र होइन, बरु दुई देशका करोडौँ जनताको साझा चासोसँग जोडिएको विषय हो । शताब्दीयौँदेखि रोटी–बेटीको सम्बन्ध राख्दै आएका भारत र नेपालले अब यो सम्बन्धलाई अझ सहज र आधुनिक बनाउनुपर्नेछ । हाम्रो मान्यता के छ भने, आज भारतको ‘फोनपे’ नेपालमा चल्छ भने नेपालको ‘नेपाल पे’ भारतमा किन नचल्ने? नेपाल राष्ट्र बैंकले यो सुविधालाई स्वीकृति दिनुपर्छ । यसबाट व्यापार, पर्यटन र आम सर्वसाधारणको कारोबार सहज हुनेछ । 

भारत–नेपाल सीमामा शताब्दियौँदेखि चल्दै आएको ‘छोटी भन्सार’ व्यवस्थालाई पुनः सक्रिय गरियोस् । यसबाट साना व्यापारी र आमनागरिकलाई आवतजावतमा भइरहेको समस्या कम हुनेछ र सीमा क्षेत्रमा रोजगारी बढ्नेछ ।

नेपाल जाने भारतीय सवारीसाधनलाई कागजातको सानो त्रुटिमा जफत (सिज) गर्नुको सट्टा सोही ठाउँमा जरिवाना तिराउने व्यवस्था हुनुपर्छ । यसबाट पर्यटकहरूमा डर होइन, विश्वास बढ्नेछ । 

भारतमा आज सवारी चालक अनुमतिपत्रदेखि लिएर सबै कागजातहरू ‘डिजिलकर’ मा मान्य छन् । यही व्यवस्था नेपालमा पनि लागू होस् । यसबाट भारतबाट नेपाल जाने पर्यटकहरूलाई कागजपत्र बोक्ने झन्झटबाट मुक्ति मिल्नेछ र पर्यटनले नयाँ उचाइ लिनेछ । आशा छ, नेपाली प्रधानमन्त्रीको भारत भ्रमणले यिनै साना तर महत्त्वपूर्ण परिवर्तनहरूको सुरुवात गर्नेछ । 

अग्रज पत्रकार राजेश पंगरियासँग गरेको कुराकानीको संपादित अंश :

भारत र नेपालबीच शताब्दिीयौँ पुरानो ‘राटी–बेटी’ को सम्बन्ध छ । दुवै देशका नागरिकबीच सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध निकै मजबुत रहिआएको छ । तर पछिल्लो केही समययता यी सम्बन्धहरूमा केही दूरी देखिन थालेको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा सुरक्षा निकायहरूको कडाइका कारण आम सर्वसाधारणको आवतजावत र आपसी मेलमिलाप प्रभावित भइरहेको छ । यस विषयमा दुवै देशका सरकारहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्छ, ताकि सुरक्षा व्यवस्था कायम राख्नुका साथै आम नागरिकहरूको परम्परागत सम्बन्ध पनि प्रभावित नहोस् ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबाट दुवै देशको सम्बन्धले नयाँ मजबुती पाउने अपेक्षा गरिएको छ । यस क्रममा सीमावर्ती क्षेत्रको विकास र आपसी सम्पर्क बढाउने विषयहरूलाई प्राथमिकता दिइनुपर्छ । विशेषगरी नेपालको सुदूरपश्चिम क्षेत्रका जिल्लालाई भारतको कुमाउँ क्षेत्रसँग जोड्नका लागि पिथौरागढको झुलाघाटमा मोटर पुल निर्माण हुनु अत्यन्त आवश्यक छ । यसबाट दुवै देशबीच आवतजावत सहज हुनेछ र व्यापारिक गतिविधिहरूलाई पनि प्रोत्साहन मिल्नेछ । 

यसका साथै दुवै देशबीचको व्यापारिक प्रक्रियाहरूलाई सरल र सहज बनाइनुपर्छ, ताकि सीमावर्ती क्षेत्रका व्यापारीले अनावश्यक झन्झटको सामना गर्नु नपरोस् र उनीहरूको कारोबार बढ्न सकोस् । नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको कुमाउँ मण्डलका धेरै जिल्लामा पर्यटनको अपार सम्भावना छ । आदि कैलाश, मानसरोवर मार्ग, मुनस्यारी, पाताल भुवनेश्वर तथा नेपालका धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलहरूलाई आपसी पर्यटन सर्किटका रूपमा विकास गर्ने दिशामा पनि दुवै सरकारले पहल गर्नुपर्छ । यसबाट दुवै देशका पर्यटकहरूको आवतजावत बढ्नेछ र स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधिले तीव्रता पाउनेछ । प्रधानमन्त्री शाहको यो भ्रमण केवल औपचारिक भेटघाटमा मात्र सीमित रहनु हुँदैन, बरु यसको लाभ सीमावर्ती क्षेत्रका आमनागरिकसम्म पुग्नुपर्छ । भारत र नेपालका सरकारहरूले आपसी विश्वास, सहयोग र विकासलाई प्राथमिकता दिऊन्, ताकि शताब्दियौँ पुरानो राटी–बेटीको सम्बन्ध अझ मजबुत होस् र दुवै देशबीचको मित्रता नयाँ उचाइमा पुगोस् ।

अग्रज पत्रकार इन्द्रााी दास गुप्तासँग गरेको कुराकानीको संपादित अंश :

भारत र नेपाल अनादिकालदेखि नै बलियो सम्बन्धले अटूट रूपमा जोडिएका छन् । यी सम्बन्धहरूले हामीलाई विगतमा एकताबद्ध राखेका छन् र भविष्यमा पनि सधैँ बाँधिरहनेछन् । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा आउँदैछन । यो भ्रमण नेपाल र भारत दुवै देशका जनताका लागि ठुलो अपेक्षाको विषय बनेको छ । नेपालको तर्फबाट उच्चस्तरीय राजनीतिक संयन्त्रको अपेक्षा गरिएको छ । जसले लामो राजनीतिक अनिश्चितताको अन्त्य गर्दै सहज शान्ति प्रक्रियाको मार्ग प्रशस्त गर्न सक्छ । नेपालका प्रधानमन्त्रीले वार्ताको माध्यमबाट गतिरोध खुलाउने र सहमति निर्माण गर्ने काम गर्न सकेमा त्यसले महत्वपूर्ण उद्देश्य पूरा गर्नेछ । 

नेपालका प्रधानमन्त्रीको नोभेम्बर भ्रमणले भारतलाई आफ्नै नीति र शान्ति प्रक्रियाको प्रत्यक्ष रूपमा पुनर्मूल्याङ्कन गर्ने अवसर प्रदान गर्नेछ । वर्तमान समयमा नेपालप्रतिको भारतको नीति सहमति निर्माण गर्ने र ‘जेन–जी’ आन्दोलनका उद्देश्यहरू पूरा गर्ने उपायहरू अवलम्बन गर्ने गरी दुई आधारस्तम्भमा आधारित हुनुपर्छ ।

आध्यात्मिक पृष्ठभूमिबाट हेर्दा भारत र नेपाललाई एउटै साझा सूत्रले पनि जोडेको छ र त्यो हो बुद्ध धर्मको सूत्र । बुद्ध धर्मका नैतिक मूल्यलाई कायम राख्न तथा नेपाल र भारत दुवैका गुम्बाहरूको विकास गर्न नेपाल र भारतले संयुक्त रूपमा काम गर्नुपर्छ । हामी आशा गर्छौँ कि नेपालका प्रधानमन्त्रीले बुद्ध धर्मको फस्टाउँदो विकासमा ध्यान केन्द्रित गर्नुहुनेछ । दुई देशबीचको पर्वतीय पर्यटनले स्वस्थ सम्बन्ध निर्माण गर्न मद्दत पुर्‍याउनेछ । दुई नजिकका छिमेकीहरू अझ नजिक आउन सकून् भन्ने उद्देश्यले नेपालका प्रधानमन्त्री श्री बालेन शाहको युगान्तकारी भ्रमणलाई स्वागत गर्न भारत तयार छ ।