निजामती सेवाप्रतिको गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छ : मन्त्री रावल
निजामती कर्मचारीले कानुनविपरीतका काम नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताउँदै उनले राज्यले खटाएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम क्षेत्र र स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताइन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रतिको गुमेको जनविश्वास पुनःस्थापित गर्ने जिम्मेवारी नयाँ पुस्ताका कर्मचारीमा रहेको बताएकी छन् । प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै कर्मचारीतन्त्रमा देखिएका विकृति अन्त्य गर्ने सरकारको तयारी रहेको उनले बताएकी हुन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री रावलले कर्मचारीतन्त्रमा रहेको भनसुन, चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिइन् । निजामती कर्मचारीले कानुनविपरीतका काम नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताउँदै उनले राज्यले खटाएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम क्षेत्र र स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताइन् ।
‘राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ। त्यो विकृति हटाउने गरी संसद्मा विधेयक दर्ता गरिएको छ। संसद् सुरु हुनेबित्तिकै छलफलमा आउँछ। निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पूरा गर्नुपर्छ’, उनले भनिन् ।
निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको उनको भनाइ थियो । सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीले पुराना गलत अभ्यास त्याग्नुपर्ने र त्यसको सुरुआत उच्च तहका कर्मचारीबाटै हुनुपर्ने उनले बताइन् । कानुनविपरीतका काम गर्न दबाब आए अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट पारिन् ।
‘राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ। त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुनविपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ’, उनले भनिन् । सार्वजनिक सेवामा सामान्य काम पूरा गर्नसमेत नागरिकले लामो समय कुर्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले जनतामा निराशा बढाएको उनले बताइन् । यस्तो प्रवृत्ति अन्त्य गरी राज्यबाट प्रदान गरिने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
उनले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन् । नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारी सेवाकालभर कायम राख्नुपर्ने उनले उल्लेख गरिन् । कार्यक्रममा महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले राज्यबाट प्रदान गरिने सेवा प्रवाहमा विभिन्न निकायबीच समन्वय र साझेदारी हुन सके सरकारी कार्ययोजना कार्यान्वयन सहज हुने बताए ।
नायब महालेखापरीक्षक घनश्याम पराजुलीले नवप्रवेशी अधिकृतलाई आन्तरिक तथा अन्तिम लेखापरीक्षण, बजेट तर्जुमालगायतका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका कानुनअनुसार ज्ञान, सीप र क्षमता हासिल गरी सेवाकालमा लागू गर्न आग्रह गरे । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद भट्टले नवप्रवेशी अधिकृतलाई जनताको सेवामा उत्कृष्टता हासिल गर्ने प्रवृत्ति विकास गर्न सुझाव दिए ।
परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण ढकालले राज्य सञ्चालनको जिम्मेवारीमा पुग्नु सम्मानसँगै ठूलो दायित्व पनि भएको बताउँदै सेवाकालीन तालिमलाई ज्ञान र चेतना विकास गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे । सङ्घीय संसद् सचिवालयका सहसचिव रामहरि थापाले भ्रष्टाचार निरुत्साहित गर्दै नैतिकता र सदाचारलाई जीवनशैली बनाउन नवप्रवेशी अधिकृतलाई आग्रह गरे। प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले परिवर्तनलाई आत्मसात् गर्दै निःस्वार्थ रूपमा राष्ट्र सेवामा समर्पित हुन सुझाव दिए ।
प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले निजामती सेवाका नवप्रवेशीका लागि तयार गरिएको सक्षमतामा आधारित छमहिने पाठ्यक्रमले सार्वजनिक प्रशासनका आधारभूत मूल्य र मान्यता विकास गर्ने बताए । मंसिर ७ गतेदेखि छ महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा विभिन्न सेवाका १८९ जना अधिकृत सहभागी छन् । सहभागीमध्ये परराष्ट्र सेवाका ९, लेखापरीक्षण समूहका ११, सङ्घीय संसद् सेवाका ४, सामान्य प्रशासनतर्फका १२८ र राजस्वतर्फका ३७ जना रहेका छन् ।