सेयर बजारमा ‘पर्ख र हेर’को अवस्था, प्रधानमन्त्रीको भारत भ्रमणले फर्काउला लगानीकर्ताको विश्वास?

नीतिगत सुधार, न्यून ब्याजदर र सहज तरलताका बाबजुद चार कारोबार दिनमै नेप्से २७ अंकले घट्यो, लगानीकर्ताको नजर प्रधानमन्त्रीको भारत भ्रमणबाट आउने सकारात्मक सन्देशमा

काठमाडौं । नेपालीका ठूला चाडपर्व दसैँ, तिहार र छठ सकिएपछि सेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो । तर, चाडपर्वपछि खुलेको बजारले लगानीकर्ताको अपेक्षाअनुसार गति लिन सकेन । बजार सुधारका लागि नीतिगत पहल भइरहेका छन्, ब्याजदर न्यून छ र तरलताको अवस्था पनि सहज छ । तर, यी सबै सकारात्मक पक्षका बाबजुद नेप्से परिसूचक भने ओरालो लागेको छ ।

यो साता चार दिन मात्रै सेयर कारोबार भयो । चार कारोबार दिनमध्ये तीन दिन बजार घट्यो भने एक दिन मात्रै बढ्यो । अघिल्लो साता २६४८.८९ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबारमा २६२१.२९ अंकमा झरेको छ । यसअनुसार एक सातामै नेप्से २७.६ अंकले घटेको छ । चार कारोबार दिनमा कुल १६ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सरकारले पुँजीबजार सुधारका लागि विभिन्न नीतिगत तथा संरचनागत प्रयास अघि बढाएको छ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, ब्याजदर न्यून छ र बजारमा नयाँ कारोबार प्रणाली तथा उपकरण भित्र्याउने तयारी भइरहेको छ । तर, यी सुधारका प्रयासले लगानीकर्ताको मनोबल बढाउन सकेका छैनन् ।

सरकारले धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित धितोपत्र सम्बन्धी ऐन, २०६३ मा विभिन्न संशोधन प्रस्ताव गरेको छ । संशोधनमा निर्माणाधीन जलविद्युत् आयोजनालाई सार्वजनिक निष्कासन (आईपीओ) मा सहभागी हुन सहज बनाउनेदेखि हकप्रद शेयर निष्कासनको स्वीकृति प्रक्रिया समयबद्ध बनाउने, विशिष्टीकृत लगानी कोषमा विदेशी लगानी भित्र्याउने र नेपाल धितोपत्र बोर्डको नियामकीय स्वतन्त्रता तथा जवाफदेहिता बढाउने व्यवस्था समेटिएको छ । नीतिगत सुधार हुँदैमा सेयर बजारको सूचक अनिवार्य रूपमा बढ्नुपर्छ भन्ने होइन । तर, सुधारका प्रयासले लगानीकर्ताको विश्वास र बजारप्रतिको आकर्षण बढाउनुपर्ने हो । अहिले भने लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा छन् ।

दुई तिहाइ बहुमतको सरकार बनेपछि सरकारले लगानीमैत्री नीति निर्माण गरिरहेको बताउँदै आएको छ । सेयर कारोबारबाट हुने पुँजीगत लाभकर घटाइएको छ भने ब्रोकरमार्फत मार्जिन कारोबार सुरु भइसकेको छ । मार्जिन कारोबारका लागि धेरै लगानीकर्ताले आवेदन दिएको र यसको माग क्रमशः बढ्ने ब्रोकरहरूको भनाइ छ ।

यसका अतिरिक्त अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) र सर्ट सेलिङको व्यवस्था गर्ने तयारी भइरहेको छ । छुट्टै कारोबार बेन्चमार्क निर्माण तथा बजारका सूचकाङ्क पुनर्संरचनाको विषय पनि अघि बढाइएको छ । नेपाल राष्ट्र बैंकले पनि सेयर बजारलाई प्रत्यक्ष रूपमा कस्ने नयाँ नीतिगत व्यवस्था ल्याएको छैन । नयाँ तथा वित्तीय अवस्था राम्रो भएका कम्पनीहरू बजारमा प्रवेश गर्ने क्रमसमेत बढेको छ । यति धेरै सुधारका प्रयास भइरहँदा पनि बजारले सकारात्मक प्रतिक्रिया नदिनु लगानीकर्ताको मनोबल अझै कमजोर रहेको संकेतका रूपमा देखिएको छ । बजारमा सुधारका लागि आवश्यक नीतिगत आधार तयार हुँदै गए पनि त्यसको प्रभाव कारोबार र सूचकमा देखिन बाँकी छ ।

भारत भ्रमणबाट बजारले खोजेको सकारात्मक सन्देश

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि हिजो भारत गएका छन् । उनीसँगै पुँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक सहकार्य र लगानीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यसमिति सदस्यसमेत रहेका ढकाल प्रधानमन्त्रीसँग भारत जाने ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलमा समेटिएका हुन् । उनी नेपालको पुँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै भारत जाने व्यवसायीमध्ये एक हुन् ।

नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषय अहिले आर्थिक क्षेत्रको महत्त्वपूर्ण मुद्दा बनेको छ । पुँजी परिचालन, लगानीकर्ताको विश्वास अभिवृद्धि र वित्तीय क्षेत्रको विकासमा नीतिगत सहकार्य आवश्यक भइरहेका बेला भारतीय बजार र त्यहाँको वित्तीय क्षेत्रसँग अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा यो भ्रमणलाई लिन सकिने बताइन्छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हुनुका साथै बैंकिङ, वित्तीय सेवा र पुँजी बजारको क्षेत्रमा पनि महत्त्वपूर्ण अनुभव भएको मुलुक हो । यस्तो अवस्थामा भारतीय व्यावसायिक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग हुने संवादले नेपालको पुँजी बजारका सम्भावना र चुनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रको उल्लेख्य सहभागिताले आर्थिक कूटनीतिलाई थप प्राथमिकता दिएको देखिन्छ । भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा दुई देशबीच व्यापार, लगानी, औद्योगिक साझेदारी तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल हुनेछ । यसले निजी क्षेत्रका प्रतिनिधिलाई भारतीय लगानीकर्ता तथा व्यवसायीसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ ।

नेपालको पुँजी बजारमा संस्थागत सुधार, लगानीको दायरा विस्तार र नयाँ वित्तीय उपकरणको विकासका विषयमा बहस भइरहेका बेला भारत भ्रमणलाई अनुभव आदानप्रदान तथा सम्भावित सहकार्यका दृष्टिले उपयोग गर्न सकिनेछ । ढकालको सहभागिताले पुँजी बजार क्षेत्रका मुद्दालाई पनि आर्थिक कूटनीतिको बहससँग जोड्ने अवसर दिएको छ ।

पुँजी बजार विश्लेषक देव गुरागाईंले लामो समयदेखि साइडवेजमा रहेको बजारमा अब सुधारको अपेक्षा गर्न सकिने बताएका छन् । बजार सुधारका लागि विभिन्न नीतिगत पहल भइरहेकाले त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सक्ने उनको भनाइ छ । गुरागाईंका अनुसार बजार सुधारका लागि केही नीतिगत विषयहरू प्रक्रियामै छन् भने केहीमा सुझाव माग्ने र नीति निर्माण गर्ने काम भइरहेको छ । यस्ता पहलले बजारमा सकारात्मक अपेक्षा बढाउन सक्ने भए पनि तत्कालै बजार बढ्छ भनेर ठोकुवा गर्न नसकिने उनले बताए ।


‘बजार बढ्नुपर्छ भन्ने नै हो । लामो समयदेखि बजार साइडवेजमा छ । अब बजार घट्नुपर्ने वा नकारात्मक हुनुपर्ने त्यस्तो ठूलो कारण देखिँदैन,’ उनले भने ।


उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई पनि पुँजी बजारका लागि सकारात्मक संकेतका रूपमा हेर्न सकिने बताए । भारतले नेपाललाई हेर्ने दृष्टिकोण, सहयोग र ठूला विकास परियोजनामा हुने सहकार्यले नेपालको अर्थतन्त्रसँगै सेयर बजारमा पनि प्रभाव पार्ने उनको भनाइ छ ।


‘प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भारतले नेपाललाई हेर्ने दृष्टिकोण र सहयोगका विषयमा के कस्तो परिवर्तन आउँछ भन्ने कुराले हाम्रो अर्थतन्त्र, कारोबार र लगानीकर्ताको मनोविज्ञानमा असर गर्छ,’ गुरागाईंले भने ।

उनका अनुसार वर्तमान सरकारको बलियो बहुमतका कारण भारतले नेपालसँगको सहकार्यलाई विगतभन्दा फरक ढंगले अघि बढाउन सक्ने अपेक्षा गर्न सकिन्छ । सरकारले विकास निर्माणलाई प्राथमिकता दिएर भारतसँग ठूला परियोजनामा समझदारी गर्न सके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । विकास निर्माणका क्षेत्रमा भारतको सहयोग बढ्ने र ठूला परियोजना अघि बढ्ने अपेक्षाले लगानीकर्ताको मनोबल बढाउन सक्ने उनको भनाइ छ । अर्थतन्त्रमा सुधार हुने अपेक्षा बढे त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा पनि देखिन सक्ने उनले बताए । ‘भारतबाट प्रधानमन्त्री फर्किँदा सकारात्मक सन्देश आउने अपेक्षा छ । यसपटक विगतमा जस्तो साना विषयमा मात्रै नभई ठूला विकास परियोजनासम्बन्धी समझदारी हुने आशा गरौँ । त्यसले बजारसँग प्रत्यक्ष सम्बन्ध राख्छ,’ उनले भने ।

गुरागाईंले प्रधानमन्त्रीको भारत भ्रमणबाट प्राप्त हुने सकारात्मक सन्देश र विकास निर्माणका क्षेत्रमा हुने सहकार्यले बजार सुधारको अपेक्षा बढाउन सक्ने बताए ।  उनले बजारमा तत्कालै ठूलो सुधार आउने निश्चित नभए पनि नकारात्मक हुनुपर्ने ठूला कारण नदेखिएको बताए । बजार सुधारका लागि भइरहेका प्रयास र भारत भ्रमणबाट प्राप्त हुन सक्ने सकारात्मक सन्देशले लगानीकर्ताको मनोबल बढाउने अपेक्षा गर्न सकिने उनको भनाइ छ । यसरी बजारमा सुधारका लागि नीतिगत पहल, सहज तरलता र न्यून ब्याजदरजस्ता आधार तयार भइरहँदा पनि लगानीकर्ताको विश्वास फर्किन सकेको छैन । अब बजारले सुधारका प्रयासको प्रभाव देखाउने हो वा ‘पर्ख र हेर’को अवस्थामै रहने हो भन्ने कुरा आगामी कारोबारले देखाउनेछ ।