बजेट महत्त्वाकांक्षी आएको छैन, प्रक्षेपित जीडीपीको जम्मा २८ प्रतिशत मात्रै छ : अर्थमन्त्री वाग्ले
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बजेटबारे प्रष्टीकरण दिँदै उनले बजारमा २५ खर्बको बजेट आउने हल्ला चलिरहेको भए पनि आफूले २१ खर्ब २४ अर्ब रुपैयाँको मात्रै बजेट ल्याएको स्पष्ट पारे ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २८ प्रतिशत मात्रै आकारको ल्याइएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बजेटबारे प्रष्टीकरण दिँदै उनले बजारमा २५ खर्बको बजेट आउने हल्ला चलिरहेको भए पनि आफूले २१ खर्ब २४ अर्ब रुपैयाँको मात्रै बजेट ल्याएको स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण सरकारले गरेको जानकारी दिँदै सोही आधारमा बजेट तय गरिएको बताए । यसका साथै, सरकारले आगामी वर्षका लागि लिनुपर्ने सार्वजनिक ऋणको मात्रालाई कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतको सीमाभित्रै राखेर बजेट ल्याएको भन्दै उनले कडा वित्तीय अनुशासन कायम गरिएको उल्लेख गरे ।
उनले भूकम्प र कोभिड-१९ पछि बजेटको आकार अस्वाभाविक रूपमा बढेको उल्लेख गर्दै अहिले त्यसलाई घटाएर भूकम्पअघिको यथार्थपरक ट्रेन्डमा फर्काइएको बताए । उनका अनुसार त्यतिबेला बजेट जीडीपीको २५ देखि २९ प्रतिशतबीच रहने गर्थ्यो, तर पछि ३७ प्रतिशतसम्म पुगेको थियो ।
अर्थमन्त्री वाग्लेले सार्वजनिक ऋणबारे उठेका प्रश्नको जवाफ दिँदै आगामी वर्ष सरकारले ३ खर्ब १८ अर्ब रुपैयाँ ऋण तिर्ने योजना रहेको जानकारी दिए। बाह्य ऋण २ खर्ब ४८ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रहेको उल्लेख गर्दै उनले आन्तरिक ऋणको ठूलो हिस्सा पुरानै ऋण भुक्तानीमा प्रयोग हुने बताए ।
उनका अनुसार बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा आधारित छ र यसले सुशासन, शिक्षा तथा स्वास्थ्यसहित मध्यम वर्गीय विस्तार, रोजगारी सिर्जना (१० देखि १२ लाख), पूर्वाधार तथा सहरी विकास र विदेशमा रहेका नेपालीको पुँजी नेपालमा भित्र्याउने पाँच मुख्य लक्ष्यलाई प्राथमिकता दिएको छ ।
सरकारले आगामी वर्ष १० देखि १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पनि उनले दोहोर्याए । अर्थमन्त्री वाग्लेले बजारमा बजेटको आकार र कार्यान्वयन क्षमताबारे देखिएको बहस स्वाभाविक रहेको भन्दै यो बजेट अंकभन्दा पनि संरचनात्मक सुधार र आर्थिक स्थायित्वमा केन्द्रित रहेको बताए ।