‘विदेशबाट उपहार आयो’ भन्दै ठगी गर्नेक्रम बढ्यो, मनी बक्स र गिफ्ट पार्सलको प्रलोभन देखाउँदै भन्सार शुल्क माग
आर्थिक वर्ष २०८०/८१ मा ५५८ वटा उजुरी परेकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर ५३६ पुगेको थियो भने चालू आर्थिक वर्ष २०८२/८३ को हालसम्म मात्रै यो संख्या ह्वात्तै बढेर ७६१ पुगिसकेको छ ।
काठमाडौं । एक युवाको ह्वाट्सएपमा अपरिचित नम्बरबाट एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘म धेरै तनावमा छु, कृपया मेरो कुरामा ध्यान दिनुहोस् । हामीसँग समय छैन, तुरुन्तै एजेन्टलाई भन्सार शुल्क (कस्टम फी) पेमेन्ट गरिदिनुस् । तपाईंको पैसा म ३० प्रतिशत थपेर फिर्ता दिनेछु । पेमेन्ट गरेपछि एजेन्टले तपाईंको सामान घरमै ल्याइदिनेछ ।’
यो सामाजिक सञ्जाल ह्वाट्सएपमा अपरिचित र विदेशी जस्तो देखिने नम्बरबाट एक नेपाली युवालाई आएको सन्देश हो । यो सन्देश हेर्दा कोही व्यक्तिले विदेशबाट ठूलो उपहार पठाइरहेको र सोको भन्सार शुल्क तिर्न नसकेर रकम पठाउन आग्रह गरिरहेको जस्तो देखिन्छ । अझ, उसले प्याकिङ गरेको सामान, नाम, नम्बर र ठेगाना उल्लेख गरेको कागज र पार्सल पठाएको हवाईजहाजको समेत तस्बिर समेत पठाउँछ ।
अर्थात्, ठूलो उपहार प्याकिङ गरेर पठाइसकेको जस्तो देखिन्छ । तर, वास्तवमा यो कुनै उपहार प्रदानको बहाना नभई नेपालीहरूलाई जालमा पारेर लाखौं रुपैयाँ ठगि गर्ने जाल हो । अहिले सामाजिक सञ्जाल र विभिन्न एपमार्फत ‘विदेशबाट पैसा र उपहार पठाएको’ भन्दै नेपालीहरूलाई ठग्ने गिरोह सक्रिय देखिएको छ । पछिल्लो समय ‘अर्बिट ग्लोबल एक्सप्रेस’ जस्ता नाम प्रयोग गर्दै कस्टम क्लियरेन्स, कर तथा डेलिभरी शुल्कको बहानामा रकम असुल्ने प्रयास बढेको पाइएको हो ।
ठगीमा संलग्न व्यक्तिहरूले सुरुमा फेसबुक, व्हाट्सएप वा अन्य सामाजिक सञ्जालमार्फत मित्रता गाँस्ने गर्छन् । त्यसपछि आफू विदेशमा रहेको, ठूलो रकम, डलर, सुन वा महँगो उपहार पठाएको भन्दै विश्वास दिलाउने प्रयास गरिन्छ। केही दिनपछि ‘तपाईंको नाममा आएको बक्स कस्टममा रोकिएको छ’ भन्दै रकम माग्न सुरु गरिन्छ ।
उसले पैसा ठग्न प्रयास गरेको व्यक्तिलार्य पठाइएका सन्देशमा ‘कस्टम क्लियरेन्स फी’, ‘रिलिज चार्ज’, ‘एन्टी मनी लाउन्डरिङ शुल्क’ जस्ता बहाना बनाइ तत्काल पैसा हाल्न दबाब दिन्छ । ‘एजेन्ट तपाईंको घर आउँदैछ,’ म्यासेजमा उसले लेख्छ, ‘अहिले पैसा नतिरे सामान जफत हुन्छ । त्यसैले १० हजार रुपैयाँ तत्काल भुक्तानी गर्नुहास् ।’
साथै, ‘मनी बक्स’ पठाएको दाबी गर्दै रकम पाएपछि ३० प्रतिशतसम्म दिने प्रलोभन पनि देखाइन्छ । हुन त यो एउटा उदाहरण मात्रै हो । पछिल्लो समय यसरी पैसा ठग्न सक्रिय एउटा ठूलो सञ्जाल छ । साथै, ठूलो मात्रामा यस्तो जालोमा परेर ठगिनेको संख्या पनि धेरै छ ।
विदेशबाट बहुमूल्य उपहार र लाखौं डलरको मनी बक्स पठाएको भन्दै भन्सार छुटाउने बहानामा रकम असुल्ने गिरोहले नेपालीहरूलाई आर्थिक र मानसिक रूपमा कंगाल बनाइरहेका छन् । उनीहरुले सामानको फोटो र प्लेनको फोटो समेत पठाउने गर्दछन् यसले झन मानिसहरु उनीहरु प्रति विश्वस्त हुने गर्दछन् ।
‘आफू विदेशमा रहेको तथा ठूलो रकम वा महँगो उपहार पठाएको भन्दै विश्वास दिलाउने प्रयास लगातार भयो,’ ती युवाले भने, ‘त्यसपछि तपाईंको नाममा आएको बक्स कस्टममा रोकिएको छ भन्दै कस्टम क्लियरेन्स फी रिलिज चार्ज र एन्टी मनी लाउन्डरिङ शुल्क जस्ता बहाना बनाएर तत्काल पैसा हाल्न दबाब दिन थाल्यो । मलाई वास्तवमै हो नै भन्ने विश्वास दिलयो ।’
यद्यपि, आशंका लागेर उनले अन्य व्यक्तिलाई सोध्ने तथा खोज्ने काम उनले गरे । जसले गर्दा पैसा भने पठाएनन् । उनका अनुसार पीडितहरूले सोच्ने समय नपाऊन भन्नका लागि उनीहरूले “ड्युटीमा व्यस्त भएकाले जवाफ दिन ढिलो भयो, चिन्ता नगर्नुस्, एजेन्टले भनेको मान्नुस्, म तपाईंलाई धेरै विश्वास गर्छु जस्ता कुराहरु सो व्यक्तिले गर्ने गरेको छ ।
साइबर सुरक्षासम्बन्धी जानकारहरूका अनुसार यो अन्तर्राष्ट्रिय अनलाइन ठगीको पुरानै शैली हो, जहाँ ठगी गर्ने समूहले नक्कली कुरियर कम्पनी, फर्जी ट्र्याकिङ प्रणाली र बनावटी कागजात प्रयोग गरेर पीडितलाई विश्वस्त पार्ने प्रयास गर्छन् ।
साइबर ब्यूरोमा दर्ता हुने उजुरीहरूको आधिकारिक तथ्याङ्कले यो डिजिटल अपराधको डरलाग्दो रूप र यसको भयावह अवस्थालाई थप प्रष्ट पार्छ । साइबर ब्यूरोको पछिल्लो ३ वर्षको तथ्याङ्कले अनुसार पनि यस्तै लटरी, गिफ्ट, पार्सल वा मनी पार्सल पठाएको भन्दै सर्वसाधारणलाई ठग्ने प्रवृक्ति निकै आत्रामक रूपमा बढिरहेको देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा ५५८ वटा उजुरी परेकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर ५३६ पुगेको थियो भने चालू आर्थिक वर्ष २०८२/८३ को हालसम्म मात्रै यो संख्या ह्वात्तै बढेर ७६१ पुगिसकेको छ ।
समग्र साइबर अपराधको ग्राफ हेर्ने हो भने पनि नेपालमा प्रविधिको दुरुपयोग गरी हुने ठगीका घटनाहरू डरलाग्दो गरी आकाशिएका छन्, जहाँ आर्थिक वर्ष २०८०/८१ देखि चालू आर्थिक वर्ष २०८२/८३ को हालसम्म मात्रै कुल १७ हजार ३ सय ८८ वटा साइबर अपराध सम्बन्धी उजुरीहरू दर्ता भइसकेका छन् ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ हजार १ सय ५४ वटा उजुरी दर्ता भएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा यो संख्या झन्डै दोब्बरले बढेर ७ हजार ७ सय ४० पुगेको थियो र चालू आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा मात्रै ५ हजार ४ सय ९४ वटा उजुरी ब्यूरोमा दर्ता भइसकेका छन् ।
पछिल्ला वर्षहरूमा सोसल मिडिया ह्याक तथा फेक आईडी बनाएर ठगी गर्ने क्रम पनि अत्यधिक उच्च छ, जसमा तीन वर्षको अवधिमा क्रमशः ८२०, ५५२ र ७५१ वटा उजुरी परेका छन् । बैंक तथा डिजिटल वालेट ह्याकिङ, ओटिपीरफिसिङ लिंक र स्क्रिन सेयरिङ मार्फत हुने वित्तीय अपराध चालू आर्थिक वर्षमा ह्वात्तै बढेर १ हजार १ सय २० पुगेको छ, जुन गत वर्ष जम्मा २८९ मात्र थियो ।
यति मात्र नभई, टेलिग्राम, इन्स्टाग्राम र ह्वाट्सएप मार्फत पार्ट टाइम जब लगाइदिने बहानामा दुई वर्षमा सबैभन्दा ठूलो चुनौती बनेको छ, जस अन्तर्गत गत वर्ष २ हजार ५३ र चालू वर्षमा १ हजार ६८ वटा उजुरी परिसकेका छन् भने फेक अनलाइन मार्केटप्लेस र सपिङका नाममा गत वर्ष मात्रै २ हजार ९ सय ३९ वटा ठगीका निवेदन दर्ता भएका थिए ।
प्रहरीले अपरिचित विदेशी नम्बर (विशेष गरी +४४ जस्ता यूकेका नम्बर) बाट आउने यस्ता प्रलोभनयुक्त म्यासेज, वैदेशिक रोजगारी वा अनलाइन लगानीका अफरहरूबाट सजग रहन आग्रह गरेको छ ।
साथै, नेपालका सरकारी भन्सार कार्यालयहरूले कहिल्यै पनि व्यक्तिगत रूपमा ह्वाट्सएपमा म्यासेज गरेर वा कसैको निजी बैंक खाता वा डिजिटल वालेटमा भन्सार शुल्क भन्दै पैसा हाल्न नलगाउने हुँदा यस्ता शंकास्पद गतिविधि देखिएमा तत्काल कुराकानी बन्द गरी प्रहरीमा उजुरी गर्न साइबर ब्यूरोले विशेष अपिल गरेको छ ।