बजेटलाई निजी क्षेत्रले स्वागत गरिरहँदा पुँजी बजारमा देखिएन प्रभाव, के हो ‘प्यानिक सेल’को फण्डा ?

राजनीतिक रूपमा बलियो र स्थिर सरकार रहेको अवस्थामा समेत सेयर बजारले अपेक्षित गति लिन नसक्नुले लगानीकर्ताको आत्मविश्वास कमजोर रहेको संकेत गरेको छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले सरकारले ल्याएको आगामी आिर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटलाई उत्पादनमुखी, निजी क्षेत्रमैत्री र सकारात्मक भन्दै स्वागत गरे । तर, निजी क्षेत्रको त्यही उत्साह र स्वागतपनको न्यायो पुँजी बजारमा भने प्रतिबिम्बित हुन सकेन । 

बजेट सार्वजनिक भएपछिको एक साताको कारोबारमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक र कारोबार रकम दुवै सुस्तायो । जुन लगानीकर्ताहरुले अपेक्षा गरेका थिएनन् । खासगरि बजेटमार्फत व्यापक सुधारको घोषणा र पुँजीगत लाभकर बृद्धिबीच तालमेल नमिल्दा लगानीकर्ता निरुत्साहित भएको कतिपयको आंकलन छ । यसले बजारको वास्तविक मनोविज्ञान र बाहिर देखिएको आशावादबीच ठूलो अन्तर देखाएको छ । निजी क्षेत्रले स्वागत गरेको बजेट अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा प्रतिविम्बित नहुँनु आँफैमा उदेकलाग्दो छ । सामान्यतया बजेट, सरकारी नीति र मौद्रिक नीतिमा निजी क्षेत्रले नकारात्मक टिप्पणी गर्दा सेयर बजार घट्ने र सकारात्मक टिप्पणी गर्दा बजार बढ्ने गरेको विगतको परम्परा छ ।  

राजनीतिक रूपमा बलियो र स्थिर सरकार रहेको अवस्थामा समेत सेयर बजारले अपेक्षित गति लिन नसक्नुले लगानीकर्ताको आत्मविश्वास कमजोर रहेको संकेत गरेको छ । बजेटपछि बजार बढ्ने अपेक्षामा धेरै लगानीकर्ताले उधारो कारोबारसमेत बढाएका थिए । तर, अपेक्षित वृद्धि नआएपछि ब्रोकरको हिसाब मिलाउन बाध्य बन्नु पर्दा लगानीकर्ताले हतारमा सेयर बिक्री गर्नुपर्ने वाध्यता आईलागेको बताउन थालेका छन् । यसले सेयर बजारमा ‘प्यानिक सेलिङ’ को दबाब बढेको लगानीकर्ताहरुको दावी छ । 

इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) का अध्यक्ष भक्तिराम घिमिरे नियामक निकायहरूको अदूरदर्शी नीति र कमजोर बजार संरचनालाई वर्तमान सुस्तताको प्रमुख कारण मान्छन् । घिमिरेका अनुसार वित्तीय अपराध नियन्त्रण आवश्यक भए पनि पछिल्लो समय अपनाइएको धरपकड र थुनछेकको शैलीले लगानीकर्ता तथा व्यवसायीको मनोबल खस्किएको छ । सामान्य प्रकृतिका वित्तीय त्रुटिलाई समेत फौजदारी अपराधसरह व्यवहार गरिनु र राजस्व असुलीलाई प्राथमिकता दिइनुले लगानीमैत्री वातावरण कमजोर बनेको उनको तर्क छ ।

घिमिरेका अनुसार धितोपत्र बोर्डको नीतिगत अस्थिरता, सामूहिक लगानी कोषसम्बन्धी अस्पष्ट व्यवस्था तथा प्राथमिक बजार र दोस्रो बजारबीचको असन्तुलनले समस्या थप गम्भीर बनाएको छ । प्राथमिक निष्कासनमा सीमित सेयर पाउने लगानीकर्ता दोस्रो बजारमा अत्यधिक मूल्य तिर्न बाध्य हुँदा धेरैको आकर्षण ‘प्रि-आईपीओ’ र प्रवद्र्धक सेयरतर्फ सरेको छ । यसले दोस्रो बजारमा आउनुपर्ने ठूलो रकम अन्यत्र केन्द्रित हुँदा बजार थप कमजोर बनेको घिमिरको विश्लेषण छ ।

बजारमा आपूर्ति र मागबीचको असन्तुलन पनि अर्को चुनौती बनेको छ । जलविद्युत् कम्पनीलगायत विभिन्न संस्थाका लक-इन अवधि समाप्त भएसँगै ठूलो मात्रामा सेयर बजारमा प्रवेश गरिरहेका छन् । तर, त्यही अनुपातमा नयाँ सक्रिय लगानीकर्ता थपिन सकेका छैनन् । डिम्याट खाता संख्या ७० लाख नाघे पनि अधिकांश लगानीकर्ता आईपीओमै सीमित रहेकाले दोस्रो बजारमा सक्रिय सहभागिता अपेक्षाकृत न्यून रहेको घिमिरेको भनाई छ ।

पुँजी बजार विश्लेषक चार्टर्ड एकाउन्टेण्ट (सीए) नवराज बुर्लाकोटीका अनुसार नेप्सेको ओरालो यात्रा स्वयंले बजेटप्रति बजार सन्तुष्ट नरहेको सन्देश दिएको छ । निजी क्षेत्रले बजेटको प्रशंसा गरे पनि लगानीकर्ताले बजेटका नीति, कार्यक्रम र कार्यान्वयन क्षमताको आधारमा मूल्यांकन गर्ने भएकाले बजारको प्रतिक्रिया नै वास्तविक संकेत भएको बुर्वाकोटीको तर्क छ । बुर्लाकोटीका अनुसार सेयर बजार अर्थतन्त्रको भविष्यको ऐना हो । यदि लगानीकर्ताले निकट भविष्यमै अर्थतन्त्र चलायमान हुने विश्वास गरेका भए बजारमा उत्साह देखिन्थ्यो । तर, बजेटका कार्यक्रमहरूले अर्थतन्त्रलाई तत्काल गति दिने पर्याप्त आधार नदेखिएकाले लगानीकर्तामा निराशा बढेको र त्यसको प्रत्यक्ष असर बजारमा परेको उनको विश्लेषण छ ।

बजेटअघि गत साता २७८२.१० विन्दुमा बन्द भएको नेप्से सूचक गत साता ०.९६ प्रतिशत अर्थात २६.६९ अंक घटेर २७५५.४१ विन्दुमा रोकिएको छ । त्यस्तै, गत साता औसत कारोबार रकमसमेत घटेको छ । अघिल्लो साता (बजेटअघि) दैनिक औषत ५ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा गत साता दैनिक औषत ५ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसलाई लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको बजेट पुँजीबजारप्रति सकारात्मक नभएको रुपमा अथ्र्याइरहेका छन् ।

पुँजी बजार विश्लेषक देव गुरागाईं भने बजारको सुस्ततालाई बजेटसँग जोडेर हेर्न नहुने बताउँछन् । उनका अनुसार दोस्रो बजार लामो समयदेखि सीमित दायरामै घुमिरहेको छ र यसको मुख्य कारण सरकारको सम्पत्ति छानबिन तथा स्रोत अनुसन्धानसम्बन्धी नीति हो । यस्ता नीतिका कारण ठूला लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बस्दा ठूलो पुँजी बजारबाहिर रोकिएको छ । बजेट समग्रमा बजारमैत्री रहेको र यसको प्रभाव देखिन अझै केही समय लाग्ने भएपनि सेयर कारोबारमा थपिएको पुँजीगत लाभकरका कारण केही स्याल हुँईंया मच्चाईरहेका छन् । तर, त्यसबाट लगानीकर्ता विचलित हुनुपर्ने कुनै कारण नभएको गुरागाईंको भनाई छ ।

समग्रमा निजी क्षेत्रको स्वागत, बलियो सरकार र सकारात्मक बजेटजस्ता बाह्य संकेतहरू भए पनि लगानीकर्ताको आत्मविश्वास, नीतिगत स्पष्टता र मनोवैज्ञानिक सुरक्षा अभावका कारण पुँजी बजार अपेक्षित रूपमा चलायमान हुन सकेको छैन । जबसम्म सम्पत्ति छानबिन, नियामकीय अनिश्चितता र लगानीकर्ताको मनोबलसँग जोडिएका प्रश्नहरूको स्पष्ट समाधान हुँदैन, तबसम्म नेप्सेमा ठूलो पुँजीको पुनः प्रवेश र दिगो सुधारको सम्भावना कमजोर नै रहने देखिन्छ । त्यसैले आगामी केही दिन अझै सेयर बजार सुस्ताउने सम्भावना छ । तर, नजिकिँदो मौद्रिक नीतिलाई देखाएर केही समय बजार चलायमान बनाउने प्रयास भने हुनेछ ।