प्रदेशतर्फ मधेस र पालिकातर्फ पोखरा महानगरले पाए धेरै बजेट, कसलाई कति ? (सूचीसहित)
स्थानीय तहमध्ये गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड, नगरपालिका कालागि १ खर्ब ३८ अर्ब ६६ करोड, महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड र उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
कुल रकममध्ये स्थानीय तहले ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गर्नेछन् भने सातवटै प्रदेशका लागि १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ पाउनेछन् ।
स्थानीय तहमध्ये गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड, नगरपालिका कालागि १ खर्ब ३८ अर्ब ६६ करोड, महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड र उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदानमध्ये प्रदेशतर्फ सबैभन्दा धेरै बजेट मधेस प्रदेश र पालिकातर्फ पोखरा महानगरपालिकाले पाएका छन् । आगामी आर्थिक वर्षका लागि मधेश प्रदेशले १७ अर्ब ५९ करोड ८७ लाख पाएको छ ।
त्यस्तै, कर्णाली प्रदेशलाई १७ अर्ब २० करोड ८२ लाख वित्तीय हस्तान्तरणमार्फत दिइने अर्थ मन्त्रालयले जनाएको छ । कोशी प्रदेशलाई १६ अर्ब ४७ करोड, बागमतीलाई १५ अर्ब २१ करोड र गण्डकी प्रदेशलाई १२ अर्ब ७२ करोड वित्तीय हस्तान्तरण गरिने भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशले १४ अर्ब ४१ करोड र सुदूरपश्चिमले १६ अर्ब १ करोड वित्तीय हस्तान्तरणमार्फत पाउने अर्थ मन्त्रालयले जानकारी गराएको छ।
विवरणअनुसार पालिकातर्फ पोखराले ३ अर्ब १८ करोड ९० लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४९ करोड ६७ लाख, सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख छ ।
काठमाडौँ महानगरपालिकाले २ अर्ब २७ करोड ८८ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ६० करोड १८ लाख सशर्त अनुदान छ भने ६७ करोड ७० लाख समानीकरण अनुदान छ । काठमाडौँले विशेष र समपूरक अनुदान पाएको छैन ।
चितवनको भरतपुर महानगरले २ अर्ब ५ करोड १७ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ६१ करोड ७ लाख सशर्त र ३९ करोड ६५ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ५० लाख समपूरक र १ करोड ९५ लाख विशेष अनुदान पाएको छ ।
वीरगन्ज महानगरपालिकाले १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये १ अर्ब ६० करोड ६७ लाख रुपैयाँ सशर्त अनुदान, ३५ करोड ३५ लाख समानीकरण अनुदान, ४० लाख विशेष अनुदान र १ करोड ६७ लाख समपूरक अनुदान पाएको छ ।
ललितपुर महानगरपालिकाले १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७६ करोड सशर्त अनुदान र ३८ करोड ५९ लाख समानीकरण अनुदान पाएको छ । ललितपुरले विशेष र समपूरक अनुदान भने पाएको छैन ।
विराटनगर महानगरपालिकाले १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७३ करोड ८५ लाख सशर्त अनुदान र समानीकरण अनुदान ३३ करोड ४३ लाख रुपैयाँ पाएको छ । विराटनगरले पनि विशेष र समपूरक अनुदान पाएको छैन ।