२५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, अवधि एकवर्ष
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ । ऋणपत्रको साँवा २०८४ असार २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । मंगलबार राष्ट्र बैंकले एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ निष्कासन गर्ने भएको हो ।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार २०८३ असार २३ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिने र निष्काशन पनि आजै हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने छ । ऋणपत्रको साँवा २०८४ असार २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको २५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिनेछ । आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने छ । राष्ट्र बैंकले ऋणपत्र केन्द्रीय बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र खरिद गर्न सक्ने व्यवस्था गरेको छ । यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ । तर, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन भने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने छ ।