राष्ट्रपति र प्रधानमन्त्री नेतान्याहुसँग भेट्न विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदै, सास कि लासको टुंगो लगाएर मात्रै फर्कने
‘कमाउ र पढ’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल गएका कन्चनपुरका विपिन जोशीको अपहरण भएको २ वर्ष पुग्न लागेको छ ।
७ अक्टोबर २०२३ मा हमासद्वारा अपहरणमा परेका जोशीको अवस्थाको बारेमा कुनै टुंगो लाग्न सकेको छैन ।
त्यही क्रममा खोजीको लागि जोशीकी आमा पद्धमा र बहिनी पुष्पा आउँदो साता इजरायल जाने भएका छन् । परिवारका सदस्यहरुका अनुसार जोशीको वास्तविक अवस्था पत्ता लगाएर मात्र फर्किने अठोटसहित उनीहरु इजरायल जान लागेका हुन् ।
तेल अबिबमा रहेको नेपाली राजदूतावासले उनीहरुलाई राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गराउने प्रयास शुरु गरेको छ ।
२३ वर्षीय विपिन हमासले इजरायलमा सन् २०२३ अक्टोबर ७ मा आक्रमण गरी अपहरणमा पर्नुभन्दा करिब तीन हप्ताअघि मात्रै इजरायल पुगेका थिए। उनी दक्षिण इजरायलको एक कृषि फार्ममा कार्यरत रहँदा अपहरणमा परेका थिए ।
गत वर्ष हमासले इजरायलमाथि गरेको भीषण आक्रमणका क्रममा जोशीलाई अन्य विदेशी नागरिक र इजरायलीहरूसँगै गाजापट्टीमा बन्धक बनाइएको थियो। सोही आक्रमणमा परी सपही–६, धनुषाका आनन्द साह, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, पाँचनली–डोटीका राजन फुलारा, बाउनिया–३ कैलालीका आशिष चौधरी, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी,मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार र लेकाम–५ दार्चुलाका दीपेशराज विष्टको मृत्यु भएको थियो ।