अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध अनुसन्धान गर्नका लागि ४ दिन म्याद थप गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् । महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए ।