माग सम्बाेधन नभए भदाै १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकहरूकाे घोषणा, यस्ता छन् कार्यक्रम

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आफ्ना माग सम्बाेधन नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । पहिलो चरणकाे आन्दोलनका कार्यक्रम आजबाट सकिएका छन् । निजी विद्यालय सञ्चालकहरूले विधेयकबाट क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति हटाउनुपर्ने माग राखेका छन् ।

दोस्रो चरणका आन्दोलनका कार्यक्रम यस्ता छन् :

१) २०८२ भदाै १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघरमण्डलामा भेला भई र्‍याली हुँदै कोण सभामा परिणत हुने ।

(२) २०८२ भदाै १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।

(२) २०८२ भदाै १६ गते बिहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्‍याली गर्ने। उक्त यात्रीमा सबै स‌ंगठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।

(४) २०८२ भदाै १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने ।

(५) २०८२ भदाै १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।

(६) २०८२ भदाै १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।