साइबर ठगीको सञ्जालः सस्तो अफर र अग्रिम भुक्तानीको दबाब, फेसबुकदेखि ह्वाट्सएपसम्मको प्रयोग
पछिल्लो समय नेपालमा अनलाइन सपिङ्ग, डिजिटल वालेट, सामाजिक सञ्जाल तथा म्यासेजिङ एपमार्फत हुने साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन् । सस्तो अफर, सीमित स्टक, तत्काल बुकिङ, अग्रिम भुक्तानी जस्ता मनोवैज्ञानिक दबाब सिर्जना गरेर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय बन्दै गएको छ ।
बागलुङ घर भएकी पार्वती थापा (नाम परिवर्तन) ले केही समयअघि सामाजिक सञ्जालमा देखिएको एउटा अनलाइन स्टोरबाट १ हजार ५ सय रुपैयाँको कपडा अर्डर गरिन् । स्टोर सञ्चालकले “अर्डर कन्फर्म गर्न आधा रकम पहिले तिर्नुपर्छ” भन्दै क्यूआर कोड पठायो । पार्वतीले सुरुमा पूरा पैसा सामान आएपछि दिने सोच बनाएकी थिइन् । तर लगातार “स्टक सकिन लाग्यो”, “अहिल्यै पेमेन्ट गर्नुपर्छ” भन्ने दबाब आएपछि उनले रकम पठाइन् । त्यसपछि भने न उनको सामान आयो, न विक्रेतासँग सम्पर्क भयो । केही समयमै उनलाई सामाजिक सञ्जालबाट ब्लक गरियो ।
यस्तै श्याम सुन्दर (नाम परिवर्तन) ले पनि भोग्नुपर्यो । उनले ‘हब अनलाइन’ नामक पेजबाट जुत्ता अर्डर गरेका थिए । सामानको मूल्य बजारभन्दा निकै कम थियो । अर्डर गरेलगत्तै “आधा पैसा अग्रिम तिर्नुपर्छ” भन्दै म्यासेज आयो । सस्तो मूल्य र अग्रिम भुक्तानीको सर्तले उनलाई शंका लाग्यो । उनले थप कुराकानी नगर्ने निर्णय गरे । पछि त्यही पेजबाट ठगिएको भन्दै अरू प्रयोगकर्ताका गुनासा देखेपछि आफू ठूलो जोखिमबाट जोगिएको महसुस गरे ।
यी केवल प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय नेपालमा अनलाइन सपिङ्ग, डिजिटल वालेट, सामाजिक सञ्जाल तथा म्यासेजिङ एपमार्फत हुने साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन् । सस्तो अफर, सीमित स्टक, तत्काल बुकिङ, अग्रिम भुक्तानी जस्ता मनोवैज्ञानिक दबाब सिर्जना गरेर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय बन्दै गएको नेपाल प्रहरीको साइबर ब्यूरो बताउँछ ।
काठमाडौंमा बस्ने हरीबहादुर (नाम परिवर्तन) को अनुभव झन् डरलाग्दो छ । एक साँझ उनको ह्वाट्सएपमा अत्यन्त नजिकको व्यक्तिबाट म्यासेज आयो-“एकदमै इमर्जेन्सी पर्यो, १० हजार रुपैयाँ हालिदेऊ ।” म्यासेजसँगै एउटा क्यूआर कोड पनि पठाइएको थियो । हरीबहादुरले साथी समस्यामा परेको ठानेर हतारमै ५ हजार रुपैयाँ पठाइदिए । केही समयपछि फेसबुक खोल्दा भने उनले त्यही व्यक्तिको स्टाटस देखे-“मेरो ह्वाट्सएप ह्याक भएको छ । कसैले पैसा मागे नपठाउनु होला ।” त्यो स्टाटस देखेपछि उनी झस्किए । तुरुन्त फोन गर्दा साथीले आफ्नो अकाउन्ट ह्याक भएको र धेरैजनालाई त्यस्तै म्यासेज पठाइएको जानकारी दिए । त्यसबेला मात्रै उनले आफू साइबर ठगीको शिकार भएको बुझे ।
नेपाल प्रहरीको साइबर ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पछिल्लो समय सबैभन्दा धेरै ठगी अनलाइन सपिङ्गमार्फत भइरहेको छ । विशेषगरी महिलालाई लक्षित गरेर ब्रान्डेड कुर्ता-सुरुवाल अत्यन्त सस्तोमा उपलब्ध गराइने विज्ञापन राखिन्छ भने महँगो मोबाइल, विशेषगरी आइफोन-१४ जस्ता फोन बजार मूल्यभन्दा आधाभन्दा कममा पाइने दाबी गरिन्छ ।
उनका अनुसार एक लाख रुपैयाँभन्दा बढी पर्ने मोबाइल ३०-४० हजार रुपैयाँमै उपलब्ध हुने भन्दै आकर्षक विज्ञापन बनाइन्छ । “सीमित स्टक”, “अहिले अर्डर नगरे अफर सकिन्छ”, “लास्ट डे अफर” जस्ता वाक्य प्रयोग गरेर उपभोक्तालाई तुरुन्त निर्णय लिन बाध्य पारिन्छ,” गिरीले बताए ।
साइबर ब्यूरोका अनुसार अधिकांश घटनामा ठगहरूले सुरुमा ‘अग्रिम भुक्तानी’ माग्ने गर्छन् । उपभोक्ताले विश्वास गरेर डिजिटल वालेट वा क्यूआरमार्फत रकम पठाएपछि उनीहरू सम्पर्कविहीन हुन्छन् । कतिपय अवस्थामा सामान पठाइने आश्वासन दिइए पनि अन्ततः कुनै प्रतिक्रिया आउँदैन । धेरै पेज केही दिनमै बन्द गरिन्छन् र नयाँ नामबाट फेरि सक्रिय हुन्छन् ।
अनलाइन सपिङ्ग मात्र होइन, कोठा भाडा, प्लेन टिकट, वैदेशिक रोजगारी र ह्वाट्सएप ह्याकमार्फत हुने ठगी पनि उल्लेख्य रूपमा बढेको साइबर ब्यूरोले जनाएको छ । विशेषगरी काठमाडौंमा कोठा खोजिरहेका विद्यार्थी र कामदारलाई लक्षित गरेर ठगी गर्ने समूह सक्रिय छन् । सामाजिक सञ्जालमा आकर्षक कोठाका फोटो राख्ने, लोकेशन पठाउने र “अर्को ग्राहकले बुक गर्न लागिसकेको छ” भन्दै तत्काल एड्भान्स माग्ने प्रवृत्ति बढेको छ । पैसा पठाएपछि फोन अफ गर्ने वा सम्पर्कबाट गायब हुने घटनाहरू दैनिकजसो आउने गरेको ब्यूरो बताउँछ ।
ह्वाट्सएप ह्याक गरेर गरिने ठगी अहिले सबैभन्दा संवेदनशील चुनौतीमध्ये एक बनेको छ । प्रहरी उपरीक्षक गिरीका अनुसार ठगहरूले कसैको ह्वाट्सएप अकाउन्टमा पहुँच बनाएपछि उसका साथीभाइ, आफन्त र चिनेजानेका व्यक्तिलाई “एकदम अर्जेन्ट पैसा चाहियो” भन्दै म्यासेज पठाउँछन् ।
“धेरै ठूलो रकम नमागी पाँच-दस हजार रुपैयाँ मात्रै माग्ने भएकाले मानिसहरू सजिलै विश्वास गर्छन्,” गिरीले भने, “मानिस व्यस्त हुने समय छानेर म्यासेज पठाइन्छ । धेरैले फोन गरेर पुष्टि नगरी सीधै पैसा पठाउने गरेका छन् ।”
ठगहरूले विश्वास जित्न वास्तविक व्यक्तिको नाम, फोटो र कुराकानीको शैलीसमेत प्रयोग गर्ने भएकाले धेरै मानिस झुक्किने गरेका छन् ।
साइबर ब्यूरोका अनुसार ‘क्यास अन डेलिभरी’ अस्वीकार गरिनु पनि ठगीको ठूलो संकेत हो । धेरै ठगहरूले अनिवार्य रूपमा क्यूआरमार्फत अग्रिम भुक्तानी गर्न लगाउँछन् । रकम पठाइसकेपछि “पेमेन्ट होल्ड भयो”, “भेरिफाइ गर्नुपर्छ”, “रिफन्ड प्रक्रिया पूरा गर्नुस” भन्दै विभिन्न लिंक पठाइन्छ । प्रयोगकर्ताले त्यसलाई सामान्य प्रक्रिया ठानेर बैंक विवरण, ओटीपी वा वालेट एक्सेस दिँदा उनीहरूको बैंक खातामै पहुँच पुग्ने गरेको छ ।
ब्यूरोका अनुसार त्यसपछि ठगहरूले खातामा रहेको रकम अन्य खातामा ट्रान्सफर गर्ने गरेका छन् । धेरै पीडितले आफू ठगिएको थाहा पाउँदा निकै ढिलो भइसकेको हुन्छ ।
साइबर ब्यूरोको तथ्यांकले पनि डिजिटल ठगीको अवस्था भयावह बन्दै गएको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्रै १५ हजार १४० वटा साइबरसम्बन्धी मुद्दा दर्ता भएका छन् । तीमध्ये ९ हजार ८२५ वटा हरासमेन्ट, फेक अकाउन्ट र सामाजिक सञ्जाल दुरुपयोगसँग सम्बन्धित छन् भने ५ हजार ३८५ वटा विद्युतीय ठगीका मुद्दा रहेका छन् ।
ब्यूरोका अनुसार पक्राउ परेका ठगबाट पीडितको रकम फिर्ता गराउनु प्राथमिकतामा रहने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामै ११ करोड ५५ लाख ४४ हजार रुपैयाँ पीडितलाई फिर्ता गराइसकिएको साइबर ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोले सर्वसाधारणलाई अनलाइन कारोबार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अपरिचित पेज वा विक्रेताको विश्वसनीयता नजाँची पैसा नपठाउन, सामाजिक सञ्जालका कमेन्ट र रिभ्यु पढ्ने बानी बसाल्न, ओटीपी तथा बैंक विवरण कसैलाई पनि नदिन र शंकास्पद लिंक नखोल्न प्रहरीले सुझाव दिएको छ ।
प्रहरी उपरीक्षक गिरीका अनुसार अत्यधिक सस्तो अफर देखिएमा त्यहाँ शंका गर्नुपर्ने हुन्छ । “कुनै पनि सामान बजार मूल्यभन्दा अस्वाभाविक रूपमा सस्तो हुन सक्दैन,” उनले भने, “यदि धेरै सस्तोमा दिइरहेको छ भने त्यसको वास्तविकता जाँच गर्नुपर्छ ।”
उनले आफ्ना बैंकिङ एपमा ‘टू फ्याक्टर अथेन्टिकेशन’ अनिवार्य गर्न, इमेल तथा सामाजिक सञ्जालका पासवर्ड बलिया बनाउन र अज्ञात नम्बरबाट आउने ह्वाट्सएप कल तथा लिंकप्रति सतर्क रहन पनि आग्रह गरे ।
अनलाइन सपिङ्गका नाममा ठगिने क्रम बढ्दै गएपछि साइबर ब्यूरोले बारम्बार सार्वजनिक सूचना जारी गर्दै ‘क्यास अन डेलिभरी’ लाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ । तर सस्तो अफरको लोभ, हतारमा निर्णय गर्ने बानी र डिजिटल सुरक्षाबारे कम चेतनाका कारण ठगीका घटना भने घट्न सकेका छैनन् ।
डिजिटल माध्यमबाट हुने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि नेपालमा विद्युतीय कारोबार ऐन, २०६३ कार्यान्वयनमा रहे पनि बढ्दो डिजिटल प्रयोगसँगै साइबर सुरक्षा अब केवल प्राविधिक विषय नभई सर्वसाधारणको दैनिक सतर्कतासँग जोडिएको आवश्यकता बनेको छ ।