मन्त्रिपरिषद्का निर्णय: मोन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत, सशस्त्रको एआईजीमा अन्जनीकुमार पोख्रेल बढुवा

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

यस्तै बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयकै अर्को प्रस्तावमाथि छलफल गर्दै मन्त्रिपरिषद्ले संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको छ ।

यसैगरी भूमि व्यवस्थासँग सम्बन्धित अर्को निर्णय गर्दै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ । निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ। समितिको सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा। रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।