१६ महिनापछि महँगीले नाघ्यो ५ प्रतिशतको सीमा: फलफूल, यातायात र तेलको भाउमा उच्च वृद्धि

मुद्रास्फीति (महँगी दर) १६ महिनापछि पुनः ५ प्रतिशतको सीमा नाघेर ५.०४ प्रतिशत पुगेको छ ।

काठमाडौं । देशमा भित्रिने रेमिट्यान्समा ऐतिहासिक छलाङ मारिरहेका बेला नेपाली उपभोक्ताहरू भने महँगीको चर्को मारमा परेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी दर) १६ महिनापछि पुनः ५ प्रतिशतको सीमा नाघेर ५.०४ प्रतिशत पुगेको छ ।  गत आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा यो दर मात्र २.७७ प्रतिशत रहेको थियो। यसअघि २०८१ पुसमा मुद्रास्फीति ५.४१ प्रतिशत रहेकामा त्यसयता निरन्तर घटेर १.११ प्रतिशतसम्म झरेको थियो, तर गत फेब्रुअरीबाट मध्यपूर्वमा सुरु भएको तनावको असर बजारमा देखिन थालेको हो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको ५.२६ प्रतिशत पुगेको छ, जबकि गत वर्षको वैशाखमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत मात्र थियो ।

खाद्य समूहअन्तर्गत सबैभन्दा बढी मूल्यवृद्धि फलफूलमा १८.६० प्रतिशत देखिएको छ भने घ्यू तथा तेलमा १३.९९ प्रतिशत, तरकारीमा ५.४० प्रतिशत र माछा तथा मासुमा ४.१६ प्रतिशत मूल्य बढेको छ; यद्यपि दाल तथा गेडागुडीको मूल्य १.६७ प्रतिशत र मरमसलाको मूल्य ०.६५ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवामा १९.९० प्रतिशतको उच्च वृद्धि भएको छ भने मध्यपूर्व द्वन्द्वका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले यातायात समूहको मूल्य सूचकांक १५.३० प्रतिशतले बढाएको छ। यसैगरी शिक्षामा ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशत मूल्यवृद्धि भएको छ ।

भौगोलिक र प्रादेशिक आधारमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी (५.२९ प्रतिशत) छ भने ग्रामीण क्षेत्रको ४.३५ प्रतिशत छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत महँगी छ । त्यसपछि क्रमशः मधेश प्रदेशमा ५.४७ प्रतिशत, लुम्बिनीमा ५.३१ प्रतिशत, कर्णालीमा ४.८८ प्रतिशत, गण्डकीमा ४.८६ प्रतिशत, सुदूरपश्चिममा ४.६५ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ४.५५ प्रतिशत मुद्रास्फीति रहेको छ। यस्तै, तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९० प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ३.७३ प्रतिशत महँगी बढेको छ। चालू आर्थिक वर्षको १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.३९ प्रतिशत थियो ।

उपभोक्ता बजार मात्र नभई वार्षिक विन्दुगत थोक मुद्रास्फीति पनि बढेर ५.९६ प्रतिशत पुगेको छ, जुन गत वर्ष ३.९५ प्रतिशत मात्र रहेकाले यस वर्ष थोक मूल्य वृद्धिदर २.०१ प्रतिशत विन्दुले बढेको देखिन्छ । थोक बजारमा उपभोग्य वस्तुको मूल्य ८.६३ प्रतिशतले ऋणात्मक (घटेको) भए तापनि उत्पादनमा प्रयोग हुने मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १५.५९ प्रतिशतले बढेको छ। साथै पुँजीगत वस्तुको ४.६१ प्रतिशत र विकास निर्माण सामग्रीको थोक मूल्य सूचकांक २.४७ प्रतिशतले बढेको छ। चिन्ताको विषय त के छ भने, सन् २०२६ अप्रिल (वैशाख आसपास) मा छिमेकी मुलुक भारतको उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत मात्र रहँदा नेपालमा भने यो ५.०४ प्रतिशत पुगेको छ, जसले भारतीय बजारको तुलनामा नेपाली उपभोक्ताहरूले बढी महँगीको सामना गरिरहेको र जनजीविका कष्टकर बन्दै गएको पुष्टि गर्दछ ।