नेप्से ४.६६ अंकले बढ्दा ३ अर्ब ४६ करोडको सेयर कारोबार
बिहीबार नेप्से परिसूचक ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । बिहीबार नेप्से परिसूचक ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पियोर इनर्जीको सेयरमूल्य भने आज सर्वाधिक १३.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेको छ भने ४ वटा घटेको छ। यो दिन लगानी समूह सर्वाधिक १।२६ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.३६ प्रतिशतको गिरावट देखिएको छ।
बिहिबार कारोबारमा आएकामध्ये १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
