उद्योगीको प्रभावमा कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अफ्ठ्यारोमा पारे: उद्योगमन्त्री
मन्त्रालयले बनाउने विधेयक तथा कानूनहरु पनि कर्मचारीहरुले उद्योगी व्यवसायीसंगको मिलेमत्तोमा बनाउने गरेको उनको आरोप छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले कर्मचारीहरुले आफूलाई काम गर्न नदिएको आरोप लगाएकी छन् । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले मन्त्रालयका कर्मचारीहरुले उद्योगी व्यवसायीको मिलोमत्तोमा काम गर्ने गरेको आरोप लगाएकी हुन् ।
उनले आफूले राम्रो गर्न खोज्दा सबैको आखाँको तगरो बन्न पुगेको बताइन् । मन्त्रालयले बनाउने विधेयक तथा कानूनहरु पनि कर्मचारीहरुले उद्योगी व्यवसायीसंगको मिलेमत्तोमा बनाउने गरेको उनको आरोप छ । उद्योगीहरूको हितअनुकूल नियम-कानुन बनाइएको भन्दै उनले त्यसलाई परिवर्तन गर्न खोज्दा कर्मचारीतन्त्रबाट असहयोग हुने बताइन् ।
मन्त्री कुमारीले आफूले उद्योग क्षेत्रमा सुधारका लागि पटक-पटक निर्देशन दिएपनि कर्मचारीहरूले परिवर्तन गर्न नमानेको गुनासो गरिन् । विधेयक निर्माण गर्दा समेत कर्मचारीतन्त्रले उद्योगीहरूले भनेअनुसारका प्रावधान राख्ने गरेको उनको आरोप छ । बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनको भनाई छ ।
नेपालमा स्वदेशी उद्योग स्थापना गर्ने वातावरण नरहेको दाबी गर्दै उनले कच्चा पदार्थ आयात र तयारी वस्तुको आयातबीचको भन्सार नीतिमा समेत पुनरावलोकन आवश्यक रहेको बताइन् । सस्तो मूल्यमा तयारी वस्तु आयात हुने तर सोही वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ महँगो पर्ने अवस्थाले नेपाली उद्योगले प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाई छ । उनले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई बोलाएर छलफल गर्ने प्रयास गरेपनि अपेक्षित परिणाम नआएको बताइन् ।
उद्योगीहरूको प्रभावबाट नीतिनिर्माण प्रक्रिया मुक्त नगरेसम्म ग्यासको समस्या समाधान नहुने उनको दाबी छ । उद्योगीहरूको प्रभावबाट समितिहरू र कानुन निर्माण प्रक्रिया मुक्त गरी राष्ट्रहितलाई केन्द्रमा राखेर कानून बनाउनुपर्नेमा उनले जोड दिइन् ।
ग्यास आपूर्ति सहज बनाउन आवश्यक कदम चाल्न आफू तयार रहेको तर उद्योगीहरूको प्रभाव कायम रहेसम्म समस्या समाधान गर्न नसक्ने उनको भनाई छ । उनले नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग सञ्चालनमा रहेको कारण ग्यास आपूर्ति सहज बनाउन नसेको दाबी गरिन् । ग्यास आपूर्ति सहज बनाउन उद्योगको संख्या घटाउनुपर्ने उनको भनाई छ ।
