घर जलेको स्मरण गर्दै गगनले भने- भदौ २३ को दमन र २४ को हिंसाको हिसाब हुनुपर्छ
उनले गत वर्षको भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक सम्पतीको विनाशसम्मका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले गत वर्षको भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक सम्पतीको विनाशसम्मका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
वीपी कोईरालाको जन्मजयन्तीका अवसरमा बोल्दै थापाले भदौ २४ गते आफ्नै घर जलेको र आफ्नो परिवारसमेत आगलागीको जोखिममा परेको स्मरण गरे । तर आफू र आफूजस्ता व्यक्तिको घर जलेको पीडाभन्दा आन्दोलनका क्रममा सन्तान गुमाएका आमाबुबा तथा घटनामा घाइते भएका युवाको पीडा ठूलो रहेको उनको भनाइ छ ।
उनले भदौ २४ लाई आफूले व्यक्तिगत क्षतिको दिनका रूपमा मात्र नहेरेको बताए । उनकाअनुसार उक्त दिनसँग जोडिएका अनुत्तरित प्रश्नको जवाफ खोज्न नसकिए सिंगो समाजले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था आउनसक्ने बताए ।
उनले भने, ‘भदौ २४ गते मेरो घर जल्यो । मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो । मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो । धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमा जलेर नष्ट भए । घरहरू मात्र जलेका थिएनन्, त्यो दिनले थुप्रै परिवारहरूलाई कहिल्यै नमेटिने घाउ पनि दिएको छ । भदौ २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो । अदम्य शाहस प्रकट गरेको दिन थियो । जेन-जी युवाहरूको विद्रोहको दिन थियो । र त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो। त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो । त्यो उक्साउनेहरू को थिए, तिनको पहिचान हुनुपर्छ । त्यो दमन गर्नेहरूले सजाय पाउनै पर्छ ।’ थापाले भदौ २३ गतेबाटै घटनाको समीक्षा गर्नुपर्ने बताए ।
