होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था दयनीय, तत्काल पुनर्स्थापना गर्न केसीको माग
उनले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुमा असुरक्षा तथा स्वास्थ्य जोखिममा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुर्नस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुमा असुरक्षा तथा स्वास्थ्य जोखिममा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्णरूपमा विच्छेद भएको भन्दै तत्काल वैकल्पिक यातायात व्यवस्था गर्न पनि माग गरे ।
उनले बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्र आवतजावतको समस्या समाधान नहुने भन्दै कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न सरकारसँग आग्रह गरे ।
सांसद केसीले भने, ‘बाढीग्रस्त रसुवा तथा नुवाकोटका होल्डिङ सेन्टरमा रहेका पीडितहरु र त्यसमा पनि खास गरेर महिला, वृद्ध तथा बालबालिकाहरु अत्यन्त अफ्ठ्यारा परिस्थितिमा छन् । उनीहरुलाई अझै बढी संरक्षण, सुरक्षा र व्यवस्थापनको आवश्यकता छ । पीडितहरुलाई यथाशिघ्र सुरक्षित र अस्थायी पुनस्र्थापना मिलाउन सरकारसँग जोडदार माग गर्दछु । अहिले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरुमा आवतजावत पूर्ण रुपमा विच्छेद छ । बेत्रावतीदेखि गल्छीसम्म दुईवटा तुईनले मात्र पुग्दैन । कम्तिमा पाँच वटा बेलीब्रिज यथाशिघ्र निर्माण गर्न पनि म सरकारसँग माग गर्न चाहान्छु ।’
उनले खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन पनि माग गरे ।
