भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति, ७२ करोड ४० लाख नोक्सानी
ग्लोबल आइएमई बैङ्कको एउटा शाखामा ११ लाख, हिमालयन बैङ्कको एउटा शाखामा ७५ लाख र लक्ष्मी सनराइज बैङ्कको एउटा शाखामा रु एक करोड १२ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैङ्कका १७ वटा शाखा प्रभावित भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बैङ्क तथा वित्तीय क्षेत्रमा ७२ करोड ४० लाख बराबरको क्षति भएको छ । प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति कृषि विकास बैङ्कमा भएको छ । बैङ्कको एउटा शाखामा ६५ करोड बराबरको क्षति भएको छ । त्यस्तै, सिटिजन्स बैङ्कको एउटा शाखा प्रभावित हुँदा एक करोड ५६ लाखको क्षति भएको छ ।
ग्लोबल आइएमई बैङ्कको एउटा शाखामा ११ लाख, हिमालयन बैङ्कको एउटा शाखामा ७५ लाख र लक्ष्मी सनराइज बैङ्कको एउटा शाखामा रु एक करोड १२ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
माछापुच्छ्रे बैङ्कको एउटा शाखामा रु ७५ लाख तथा नबिल बैङ्कको एउटा शाखामा ६३ लाखको क्षति भएको छ । एनआईसी एसिया बैङ्कका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कका तीन वटा शाखामा ४० लाख बराबरको क्षति भएको छ ।
त्यसै गरी, एनएमबी बैङ्कको एउटा शाखामा रु चार लाख, प्रभु बैङ्कका दुई वटा शाखामा ५३ लाख तथा सानिमा बैङ्कको एउटा शाखामा ६३ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैङ्क तथा वित्तीय सेवासँग सम्बन्धित भौतिक संरचनामा समेत क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैङ्कका चार वटा शाखामा ६७ करोड १३ लाख बराबरको क्षति भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा शाखामा चार करोड २३ लाख, कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख र उत्तरगया गाउँपालिकामा एउटा शाखामा ७५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
यसै गरी, उक्त रकमबाहेक बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित अन्य संरचनामा १९ करोड ५९ लाख बराबरको थप क्षति भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार नुवाकोटको विदुरमा छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा नौ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा तीन करोड २३ लाख बराबरको क्षति भएको छ ।
