२१ बुँदे पुँजीबजार सुधार कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार : सीईओ सुवेदी
नेप्से कार्यालयमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग भएको छलफलमा सीईओ सुवेदीले पुँजीबजारको विकास, सुधार र स्थायित्वका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुधार तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेप्से कार्यालयमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग भएको छलफलमा सीईओ सुवेदीले पुँजीबजारको विकास, सुधार र स्थायित्वका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । कार्ययोजना कार्यान्वयनले पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान गर्न, लगानीकर्ताको विश्वास बढाउन तथा बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने ढकालको भनाइ थियो । उनले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
जवाफमा नेप्सेका सीईओ सुवेदीले कार्ययोजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । पुँजीबजारको विकास र सुधारका लागि नेप्से सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे । छलफलमा दुवै पक्षले पुँजीबजार सुधारका लागि नीतिगत परिवर्तनसँगै संस्थागत समन्वय र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनलाई महत्त्वपूर्ण मानेका थिए । एसोसिएसनले पनि बजारलाई पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने जनाएको छ ।