टाटाको आधिकारिक वितरक सिप्रदीको कारोबार घट्यो, वित्तीय अवस्था भने बलियो
कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार मध्य जुलाई २०२६ मा समाप्त भएको आर्थिक वर्षमा सिप्रदीले २२ अर्ब ९० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२५ मा कम्पनीको यस्तो आम्दानी २४ अर्ब ८ करोड २० लाख रुपैयाँ थियो ।
काठमाडौं । टाटा ब्रान्डका सवारी साधनको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको कारोबार आर्थिक वर्ष २०२६ मा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल व्यापार करिब ५ प्रतिशतले संकुचित भए पनि सञ्चालन नाफा, तरलता र ऋण भुक्तानी क्षमतामा भने सुधार देखिएको छ ।
कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार मध्य जुलाई २०२६ मा समाप्त भएको आर्थिक वर्षमा सिप्रदीले २२ अर्ब ९० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२५ मा कम्पनीको यस्तो आम्दानी २४ अर्ब ८ करोड २० लाख रुपैयाँ थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०२३ मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०२२ मा भने २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कमर्सियल सवारी साधनको कारोबार करिब ६ प्रतिशतले बढेको छ । तर, प्यासेन्जर सवारी साधनको बिक्रीमा करिब २१ प्रतिशतको गिरावट आएपछि समग्र व्यापार प्रभावित भएको हो ।
नेपाली बजारमा बस तथा ट्रकजस्ता कमर्सियल सवारी साधनको क्षेत्रमा सिप्रदीको बजार हिस्सा करिब ६६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०२६ मा कम्पनीको कुल सवारी साधन राजस्वमा विद्युतीय सवारी साधनको योगदान ३९ प्रतिशत पुगेको छ । व्यापार घटे पनि खर्च व्यवस्थापन र सञ्चालन क्षमतामा आएको सुधारले कम्पनीको नाफा मार्जिन बढाएको छ । आर्थिक वर्ष २०२५ मा २.७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२६ मा बढेर ४.४ प्रतिशत पुगेको छ ।
त्यस्तै, घट्दो ब्याजदर, ऋणको भारमा आएको कमी र सहायक तथा सम्बद्ध कम्पनीबाट प्राप्त लाभांश लगायतका गैरसञ्चालन आम्दानीले कम्पनीको वित्तीय अवस्थालाई थप मजबुत बनाएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । कम्पनीको ऋण तथा पुँजी संरचनामा समेत सुधार देखिएको छ । गियरिङ अनुपात ०.६ गुणाबाट घटेर ०.३ गुणामा झरेको छ भने कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात ०.८ गुणाबाट घटेर ०.६ गुणामा सीमित भएको छ ।
त्यस्तै, कुल ऋण र सञ्चालन नाफाको अनुपात ६.७ गुणाबाट घटेर २.८ गुणामा आएको छ । ब्याज भुक्तानी क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात १.५ गुणाबाट बढेर ३.९ गुणा पुगेको छ । ऋण सेवा कभरेज अनुपात पनि २.८ गुणाबाट सुधार भएर ४.४ गुणा पुगेको छ । कम्पनीको चालु अनुपात १.८ गुणाबाट बढेर २ गुणा पुगेको छ । त्यस्तै, कर्जा सीमामा उपलब्ध ड्रइङ पावर हेडरूम २९ प्रतिशतबाट बढेर ५५ प्रतिशत पुगेको छ । यसले कम्पनीको तत्कालीन तरलता अवस्था सहज रहेको देखाउने प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, कम्पनीको व्यापार विस्तारमा सरकारी नीति र बजार प्रतिस्पर्धा प्रमुख चुनौतीका रूपमा रहेका छन् । सन् २०२६ को मे महिनादेखि करिब तीन महिनासम्म नयाँ कमर्सियल सवारी साधनको आयात तथा दर्ता रोकिँदा कम्पनीको कारोबारमा असर परेको थियो । काठमाडौं उपत्यकाभित्र नयाँ सार्वजनिक प्यासेन्जर सवारी दर्तामा लगाइएको प्रतिबन्ध पनि कायमै छ । यसका अतिरिक्त आर्थिक वर्ष २०२७ देखि लागू भएको मूल्यमा आधारित कर प्रणालीका कारण विद्युतीय सवारी साधनको मूल्य बढेकाले आगामी दिनमा माग प्रभावित हुन सक्ने जोखिम छ ।
प्यासेन्जर विद्युतीय सवारी साधनको बजारमा बीवाईडी र एमजी तथा पेट्रोल र डिजेल सवारी साधनमा हुन्डाई, किया र सुजुकीसँग सिप्रदीले प्रतिस्पर्धा गरिरहेको छ । त्यसैगरी, हलुका कमर्सियल सवारी र छोटो दूरीका सार्वजनिक बसमा चिनियाँ विद्युतीय सवारी साधनको प्रवेश बढ्दै जानुले पनि कम्पनीलाई चुनौती थपेको छ ।
इक्रा नेपालले अक्टोबर २९, २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनमार्फत सिप्रदी ट्रेडिङको कुल १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जा सीमाको रेटिङ पुनःपुष्टि गरेको छ । एजेन्सीले उक्त सीमाभित्रको अल्पकालीन कर्जाका लागि इक्रा एनपी ए थ्री र २९ करोड ८० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा एनपी एल ट्रिपल बी माइनस रेटिङलाई निरन्तरता दिएको हो । यसअघि कम्पनीको दीर्घकालीन कर्जा सीमा ५२ करोड रुपैयाँ थियो ।
सिप्रदी समूहको प्रमुख कम्पनी भएकाले यसले समूहका सहायक तथा भगिनी संस्थाहरूका लागि ठूलो रकमको संस्थागत जमानतसमेत जारी गरेको छ । ती संस्थामा वित्तीय समस्या उत्पन्न भए त्यसको असर सिप्रदीको नगद प्रवाहमा पर्न सक्ने जोखिम रहेको इक्राले औँल्याएको छ । यद्यपि, समूहकै सिप्रदी हायर पर्चेज प्रालिको वित्तीय अवस्थामा सुधार आएकाले जोखिम केही कम भएको प्रतिवेदनमा उल्लेख छ ।
आगामी दिनमा विभिन्न विपत्तिपछिको पुनर्निर्माणले कमर्सियल सवारी साधनको माग बढाउन सक्ने अपेक्षा गरिएको छ । तर, सरकारले अटोमोबाइल क्षेत्र तथा विशेषगरी विद्युतीय सवारी साधनमा गर्ने कर र नीतिगत परिवर्तनले कम्पनीको व्यापारमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्त्वपूर्ण हुने इक्राको विश्लेषण छ ।
सन् १९७९ मा स्थापना भएको सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सका सवारी साधन, एक्साइड ब्याट्री र माक लुब्रिकेन्ट्सको आधिकारिक वितरक हो । कम्पनीले कमर्सियल सवारी साधन, प्यासेन्जर सवारी, ब्याट्री र लुब्रिकेन्ट्सका साथै मर्मतसम्भार, पार्टपुर्जा तथा जेनेरेटरको कारोबारसमेत गर्दै आएको छ ।
कम्पनीले देशभर २४ वटा बिक्री केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । तीमध्ये १० वटा आफ्नै शोरुम र १४ वटा डिलर बिक्री केन्द्र रहेका छन् । सिप्रदी समूहअन्तर्गत सञ्चालित कम्पनीको प्रमुख प्रवर्द्धकमा समूहका अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा उनीसँग सम्बद्ध व्यक्ति र संस्थाहरू रहेका छन् ।