प्रधानमन्त्री आइतबार भारत जाने, यस्तो छ भ्रमण तालिका
३४ सदस्यीय सरकारी टोली, ५२ व्यवसायी पनि सहभागी हुने
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको उडानबाट भारत प्रस्थान गर्नेछन् । दुईदिने भ्रमण पूरा गरी उनी मंसिर ७ गते साँझ ६ः३५ बजे नियमित उडानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । मन्त्रालयका अनुसार नेपालबाट प्रस्थान गर्ने सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही अधिकारी पनि भ्रमण टोलीमा जोडिनेछन् । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत निजी खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ ।
मोदीसँग द्विपक्षीय वार्ता, विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास
भ्रमणको पहिलो दिन मंसिर ६ गते भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल हुनेछ ।सोही अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यमार्फत अघि बढाइएका विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ । द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफलका विषय र उपलब्धिबारे जानकारी दिनेछन् ।
भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा समेत उनी सहभागी हुनेछन् । साथै, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने र नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
व्यापार, लगानी र ऊर्जा सहकार्य प्राथमिकतामा
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइनेछ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गरिने कार्यक्रम छ । मन्त्रालयले दुवै देशका प्राथमिकताका क्षेत्रमा सहकार्य बढाउन र विद्यमान आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउन भ्रमण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।
भारतीय लगानी आकर्षित गर्न बिजनेस फोरम
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–इन्डिया बिजनेस फोरमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा नेपालमा लगानीका अवसर, सरकारले अवलम्बन गरेका नीतिगत व्यवस्था तथा लगानी प्रवर्द्धनका प्रयासबारे जानकारी गराइनेछ । साथै, भारतीय व्यवसायीका चासो र सुझावसमेत सुनिने मन्त्रालयले जनाएको छ । नेपालमा थप भारतीय लगानी भित्र्याउन तथा दुवै देशका निजी क्षेत्रबीच व्यावसायिक साझेदारी विस्तार गर्न बिजनेस फोरम उपयोगी हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयले प्रधानमन्त्रीको यस भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आर्थिक र विकास साझेदारीमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ । भ्रमणबाट प्राप्त हुने उपलब्धि नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका हुने अपेक्षासमेत मन्त्रालयले गरेको छ ।