मोदीको दिवाभोजदेखि नेपाल-भारत बिजनेस फोरमसम्म, प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक कूटनीतिलाई प्राथमिकता

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिए। उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कूटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिए। उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ ।

भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुँदैछ । सचिव राईकाअनुसार व्यवसायीबीचको छलफलले दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेश मन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।

उनले भने, ‘भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुनुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय विदेश मन्त्री डा। एस। जयशंकरले पनि उहाँसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ । भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरममार्फत दुवै देशका व्यवसायीबीच सहकार्य र लगानीका सम्भावनाबारे छलफल हुनेछ । यसले व्यापारिक सम्बन्ध विस्तार तथा ठोस आर्थिक उपलब्धि हासिल गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आसन्न भ्रमणले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । भ्रमणसम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिनेछ । भ्रमणलाई सफल बनाउन सञ्चारमाध्यमबाट सहयोग, सुझाव तथा सकारात्मक समाचार संप्रेषण गर्ने सञ्चारकर्मीहरूलाई परराष्ट्र मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।’

सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री साहको भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन् ।