स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे रास्वपाले छलफलपछि धारणा तय गर्ने

आजको छलफलबाटै अन्तिम निष्कर्षमा नपुगिने बताउँदै खरेलले आवश्यक परे सरकार, निर्वाचन आयोग, राजनीतिक दल र अन्य सरोकारवालाबीच थप छलफल हुने बताए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्ने विषयमा छलफलपछि आधिकारिक धारणा तय गर्ने भएको छ । स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोग पुगेका रास्वपा प्रवक्ता जगदीश खरेलले दुवै विकल्पका फाइदा र बेफाइदा केलाएर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए ।

आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा आजदेखि औपचारिक छलफल सुरु भएको जानकारी दिए । खरेलका अनुसार बैठकमा आयोगले निर्वाचनको वर्तमान अवस्था र त्यसका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नेछ। राजनीतिक दलहरूले पनि आ-आफ्ना विचार प्रस्तुत गर्नेछन् ।

आजको छलफलबाटै अन्तिम निष्कर्षमा नपुगिने बताउँदै खरेलले आवश्यक परे सरकार, निर्वाचन आयोग, राजनीतिक दल र अन्य सरोकारवालाबीच थप छलफल हुने बताए ।