विद्युतमा भ्याट फिर्ता हुँदैन उपभोक्तालाई सहुलियत दिन्छौंः अर्थमन्त्री वाग्ले

विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपार्ने विषयमा सरकारले गृहकार्य गरिरहेको छ ।' आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि सर्वत्र आलोचना भइरहेको छ ।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिबेद्धि कर (भ्याट) बाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको 'पोस्ट बजेट' छलफल कार्यक्रममा अर्थमन्त्री वाग्लेले भने, 'विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपार्ने विषयमा सरकारले गृहकार्य गरिरहेको छ ।' आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले विजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको बताए । 'विगतमा कुरा भएपनि कसैले आँट गर्न सकेको थिएन' वाग्लेले भने, 'यदी सबै निशुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भएकाले सरकारले उपभोगमा आधारित कर लगाएको हो ।' आयमा आधारित कर भन्दा उपभोगमा आधारित कर बढी सान्दर्भिक भएको भन्दै अर्थमन्त्री वाग्लेले बजेटमार्फत ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने, 'गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।'