एक महिनामा अण्डाको मूल्य ३०.४३ प्रतिशतसम्म बढ्यो, आजदेखि लागू नयाँ भाउ कति ?
संघले नयाँ मूल्य तोकेसगै पछिल्लो एक महिनामा अण्डाको प्रकृतिअनुसार प्रतिक्रेट/प्रतिपेटी मूल्य ११.२२ प्रतिशतदेखी ३०.४३ प्रतिशतसम्म बढेको छ ।
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य फेरी बढाएको छ ।
सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो । संघले नयाँ मूल्य तोकेसगै पछिल्लो एक महिनामा अण्डाको प्रकृतिअनुसार प्रतिक्रेट/प्रतिपेटी मूल्य ११.२२ प्रतिशतदेखी ३०.४३ प्रतिशतसम्म बढेको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा नयाँ मूल्य तोकिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मध्यम (मिडियम) अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ । नयाँ मूल्य सूचीअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पर्ने भएको छ ।
अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य तोकिएको र नयाँ मूल्यमा कारोबार गर्न आग्रह गरिएको बताए । पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ । पछिल्लो एक महिनामा अण्डाको मूल्य २० देखी ३० प्रतिशतसम्म बृद्धि भएको छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५, ठूलो अण्डा ४९०, मिडियम अण्डा ४०० तथा सानो अण्डा प्रतिपेटी २ हजार ३०० रुपैयाँ थियो । बढेको नयाँ मूल्यसूचीअनुसार पछिल्लो एक महिनामा एक्सएल अण्डा प्रतिक्रेट २०.४३ प्रतिशत, ठूलो अण्डा ११.२२ प्रतिशत, मिडियम अण्डा २८.७५ प्रतिशत र सानो अण्डा प्रतिपेटी ३०.४३ प्रतिशतले बढेको छ ।
अध्यक्ष पोखरेलका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ पर्ने गरेको छ । नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको बताईएको छ ।