सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँको वृद्धि, चाँदीको भाउ पनि बढ्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
नयाँ मूल्य निर्धारण भएसँगै आज बजारमा छापावाल सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भइरहेको छ। यसअघि सोमबार अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
पछिल्लो समय उतारचढावपूर्ण रहेको सुनको बजारलाई हेर्दा, गत हप्ताको मंगलबारको तुलनामा भने मूल्य अझै केही कम देखिन्छ। गत मंगलबार नेपाली बजारमा सुन इतिहासकै उच्च तह आसपास पुग्दै प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार मंगलबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ।
सोमबार प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि ४ हजार ९ सय २५ रुपैयाँ तोकिएको छ। गत हप्ताको मंगलबार भने चाँदी प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य हेरफेर र डलरको विनिमय दरका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य दिनहुँ समायोजन हुने गरेको महासंघले जनाएको छ।