बूढी गण्डकी जलविद्युत आयोजनामा १० बैंकको साढे ५२ अर्ब ऋण सम्झौता

अर्ध जलाशयको यो आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने भएको हो ।

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना बूढी गण्डीका लागि १० वटा बैंकले ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । गोरखा र धादिङ जिल्लाको सिमानामा निर्माण हुन लागेको ३४१.५ मेगावाटको बूढी गण्डकी जलविद्युत परियोजनाका लागि बिहीबार निर्माणकर्ता टाइम्स इनर्जी प्रा।लि। र बैंकहरुबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार सबैभन्दा बढी एनआइएमबी बैंकले १० अर्ब, लक्ष्मी सनराइज बैंकले ८ अर्ब, नविलले ८ अर्ब, ग्लोबल आइएमई बैंकले ७ अर्ब, माच्छापुच्छ्रे बैंकले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ४ अर्ब, प्रभु बैंक ३ अर्ब, नेपाल पूर्वाधार बैंक लिमिटेड ३ अर्ब, सिटिजन्स बैंक ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड ऋण लगानी गर्ने भएको हो ।

अर्ध जलाशयको यो आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने भएको हो । आयोजनाको निर्माण कार्य पाँच वर्षभित्र २०८७ पौषसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जसबाट वार्षिक एक हजार ८६७ गिगावाट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत विद्युत गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशनद्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।

आंशिक(जलाशय अर्थात आयोजना पिकिङ रन अफ दि रिभर (पि(आरओआर) प्रकृतिको यस आयोजनाको मुख्य संरचना बूढी गण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । आयोजनाको दैनिक ५ घन्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिने छ । यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहने छ ।