सिद्धार्थ बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत हुँदा अन्य सूचक कस्ता ?

सिद्धार्थ बैंकको नाफामा सामान्य बृद्धि भएपनि वितरणयोग्य नाफा भने उल्लेख्य गरेको छ । सिद्धार्थले अघिल्लो वर्षको ३ अर्ब ८ करोडको तुलनामा गत आर्थिक वर्षमासमग्र नाफा १०.२४ प्रतिशतले बढाएर ३ अर्ब ३९ करोड रुपैयाँ पु¥याएको छ । कम जोखिम भएका कर्जामा प्राथमिकता दिँदै बैंकले लगानी पोर्टफोलियोमा सुधार गरि खराव कर्जा (एनपिएल) लाई २.६२ प्रतिशतमा सीमित गरेको छ ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्या नाफा अघिल्लो वर्षको ५८ करोडको तुलनामा ३ गुणा अर्थात २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएर पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश दिने क्षमता बनाएको छ ।

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशत बढाएर ८ अर्ब ४४ करोड रुपैयाँ गरेको बैंकले सेवा शुल्क र अन्य आम्दानी पनि १५.०९ प्रतिशतले बढाउँदै १ अर्ब ६४ करोड रुपैयाँ पु¥याएको छ । गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ बढाएको बैंकले सञ्चालन आम्दानी ११.८२ प्रतिशतले बढाएको छ । समग्रमा बैंकको कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ । त्यसैगरि बैंकको मूल्य आम्दानी अनुपात १५.९३, पूँजीकोष अनुपात ११.७७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६.९२ प्रतिशत कायम छ । बैंकको आधार ब्याजदर गत वर्षको तुलनामा १.६९ प्रतिशत विन्दुले घटेर ६.४२ प्रतिशतमा झर्दा ब्याजदर अन्तर (स्प्रेड रेट) भने ३.९८ प्रतिशतमा सिमित छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब र कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ छ ।