हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्वः प्रथम राष्ट्रपति यादव
नेपालका हिमालहरू विश्वकै पहिचान हुन् । यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धता अपरिहार्य छ । पर्यटनले सीमापारिका मानिसहरूलाई जोड्छ र अवसरहरू सिर्जना गर्छ । तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन ।
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन् ।
‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै यादवले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असर न्यूनीकरण गर्न र यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिए । नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै पूर्वराष्ट्रपति यादवले तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान मजबुत बनेको बताए ।
तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चिनाउनुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले विविधता नै नेपालको शक्ति भएकाले सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्नुपर्ने बताए । पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘नेपालका हिमालहरू विश्वकै पहिचान हुन् । यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धता अपरिहार्य छ । पर्यटनले सीमापारिका मानिसहरूलाई जोड्छ र अवसरहरू सिर्जना गर्छ । तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन ।’