भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत नै जानकारी दिएका छन् । 

भेटबारे जानकारी दिँदै मोदीले भनेका छन्,"नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु ।"

‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिला) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको पनि मोदीको भनाइ छ । दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि मोदीको भनाइ छ । 

सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए ।

मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटघाट गरेका थिए । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।