माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्दै

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यका २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बिक्री तथा बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ । यस्तै, ३४ हजार ४०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँट गरिएको छ।

अब बाँकी रहेको १४ लाख २७ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिने भएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार ८ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।