चार महिनामै सेयर बजारबाट २ अर्बभन्दा बढी पुँजीगत लाभकर संकलन
साउनमा लगानीकर्ताले ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ कर तिरेका थिए । त्यस्तै, भदौमा ६३ करोड २७ लाख ४६ हजार ५३० रुपैयाँ, असोजमा ४९ करोड ८६ लाख ९८ हजार ९२१ रुपैयाँ र कात्तिकमा ३२ करोड ११ लाख २७ हजार ४७२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सेयर बजारबाट सरकारले २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त लाभबापत २ अर्ब ७ करोड ७५ लाख ३८ हजार २३९ रुपैयाँ कर तिरेका हुन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार पहिलो चार महिनामध्ये साउनमा सबैभन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ । साउनमा लगानीकर्ताले ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ कर तिरेका थिए । त्यस्तै, भदौमा ६३ करोड २७ लाख ४६ हजार ५३० रुपैयाँ, असोजमा ४९ करोड ८६ लाख ९८ हजार ९२१ रुपैयाँ र कात्तिकमा ३२ करोड ११ लाख २७ हजार ४७२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
मासिक तथ्यांकले पछिल्ला दुई महिनामा पुँजीगत लाभकर संकलन घट्दै गएको देखाउँछ । भदौको तुलनामा असोजमा कर संकलन घटेको थियो भने कात्तिकमा थप कमी आएको छ । विशेषगरी कात्तिकमा संकलित लाभकर चार महिनाकै न्यून हो ।
सीडीएससीका अनुसार कात्तिक महिनामा व्यक्तिगततर्फका दीर्घकालीन लगानीकर्ताले १० करोड ३६ लाख ५८ हजार ९०७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । त्यस्तै, व्यक्तिगततर्फका अल्पकालीन लगानीकर्ताले १० करोड ६४ लाख ९४ हजार १३२ रुपैयाँ र संस्थागत लगानीकर्ताले ११ करोड ९ लाख ७४ हजार ४३२ रुपैयाँ कर तिरेका छन् । यसैबीच, चालु आर्थिक वर्षको असोजदेखि सरकारले व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकरको दर घटाएको छ । आर्थिक ऐन, २०८३ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको धितोपत्र बिक्रीबाट बासिन्दा प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा सेयरको स्वामित्व अवधिका आधारमा नयाँ कर दर लागू भएको हो ।
नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि सेयर स्वामित्वमा राखेर बिक्री गर्ने लगानीकर्ताले प्राप्त लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्छ । यसअघि दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । नयाँ दरअनुसार दीर्घकालीन लगानीकर्ताको कर १.२५ प्रतिशत विन्दु र अल्पकालीन लगानीकर्ताको कर २.५ प्रतिशत विन्दुले घटेको छ ।
करको दर घट्नुका साथै कात्तिकमा दसैँ, तिहार र छठ पर्वका कारण सेयर बजारमा कारोबार हुने दिनसमेत कम भएका थिए । चाडपर्वका कारण बजार खुल्ने दिन घट्नु र कारोबार रकममा आएको कमीले सेयर बिक्रीबाट प्राप्त लाभ तथा त्यसमा लाग्ने पुँजीगत लाभकर संकलनमा समेत प्रभाव पारेको देखिन्छ ।