सिटिजन्स म्युचुअल फण्ड–२ द्वारा औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान, रकम फिर्ता सुरु
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल भएको क्यापिटलको भनाइ छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष ‘सिटिजन्स म्युचुअल फण्ड–२’ (सीएमएफ–२) ले सात वर्षे अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ । योजना अवधिभर इकाईधनीहरूलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश (प्रतिफल) प्रदान गर्न सफल भएको क्यापिटलले जनाएको छ ।
५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे निर्धारित अवधि पूरा भएसँगै २०८३ असार २१ गते योजना परिपक्व भएको हो । खारेजीसम्बन्धी प्रक्रिया पूरा भएपछि इकाईधनीहरूलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानी गर्ने कार्यसमेत सुरु भइसकेको क्यापिटलले बताएको छ ।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल भएको क्यापिटलको भनाइ छ । यसलाई क्यापिटलले आफ्नो व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्त्वपूर्ण उपलब्धि भनेको छ । यसअघि परिपक्व भएको ‘सिटिजन्स म्युचुअल फण्ड–१’ (सीएमएफ–१) मार्फत पनि औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको क्यापिटलले जनाएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्ताहरूलाई राम्रो प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको छ। हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनासहित विभिन्न योजनाहरू व्यवस्थापन गरिरहेको छ।
यसैको निरन्तरतास्वरूप कम्पनीले ‘सिटिजन्स सुपर ५०’ नामक नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना सञ्चालनमा ल्याउँदै छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्काशन २०८३ मङ्सिर २ गतेदेखि सुरु हुने तय गरिएको छ।