आशुतोष इनर्जीले मंसिर १४ देखि आईपीओ निष्कासन गर्ने
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ६ करोडरुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ६ करोडरुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको हाल दुधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गारखा जिल्लाको हाल अजरिकोट गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३ लाख कित्ता सेयर अतिप्रभावित क्षेत्र बाहेकको दुधपोखरी गाउँलिका एवं दोर्दी गाउँपालिका तथा अजरिकोट गाउँपालिकाका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
यसका साथै कम्पनीले सर्वसाधारणमा निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ६० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २८ गते हुनेछ भने ढिलोमा पुस १४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मंसिर १७ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रीपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसका साथै आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबी बैंकको बेसीशहर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।