एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो ।
काठमाडौं। एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।