आईपीओदेखि लकइनसम्मका सूचना अब ‘मेरो सेयर’मै
नयाँ व्यवस्थाअन्तर्गत आईपीओ तथा हकप्रद सेयर निष्कासन, बोनस सेयर, लाभांश वितरण, रिडेम्प्सन र लकइन अवधिसम्बन्धी जानकारी समेटिएको छ ।
काठमाडौं । लगानीकर्ताले अब आईपीओ, हकप्रद सेयर, बोनस, लाभांश वितरण तथा लकइन अवधिसम्बन्धी सूचना ‘मेरो सेयर’बाटै प्राप्त गर्न सक्ने भएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले धितोपत्र निष्कासन तथा सेयरधनीसँग सम्बन्धित विभिन्न सूचना मेरो सेयर प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
सीडीएससीका अनुसार धितोपत्र निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले सी–आस्बा सफ्टवेयरमार्फत यस्ता सूचना प्रकाशित गर्नेछन् । नयाँ व्यवस्थाअन्तर्गत आईपीओ तथा हकप्रद सेयर निष्कासन, बोनस सेयर, लाभांश वितरण, रिडेम्प्सन र लकइन अवधिसम्बन्धी जानकारी समेटिएको छ ।
यसअघि विभिन्न कम्पनीका निष्कासन तथा सेयरधनीसँग सम्बन्धित सूचना प्राप्त गर्न लगानीकर्ताले सम्बन्धित कम्पनी वा अन्य माध्यममा निर्भर हुनुपर्ने अवस्था थियो । अब भने सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारले प्रणालीमा प्रकाशित गरेका सूचना लगानीकर्ताले एउटै प्लेटफर्मबाट हेर्न सक्नेछन् । यसले सूचना प्राप्तिलाई सहज बनाउनुका साथै लगानीकर्तालाई समयमै आवश्यक जानकारी उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सीडीएससीको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार मेरो सेयरका दर्ता प्रयोगकर्ता ७२ लाख २२ हजार ४८० पुगेका छन् । तीमध्ये ५० लाख ७६ हजार ३५९ जना सक्रिय प्रयोगकर्ता छन् । ठूलो संख्यामा लगानीकर्ताले प्रयोग गर्दै आएको प्रणालीमा निष्कासन तथा सेयरधनीसँग सम्बन्धित सूचना उपलब्ध गराउने व्यवस्था थपिएसँगै यसको उपयोगिता थप बढ्ने देखिएको छ ।