उद्योगीहरूले सेवाभावले ग्यासको मूल्य बढाएका हुन्: पूर्वअध्यक्ष घिमिरे

विज्ञापन
ncell

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको ढुवानीमा देखिएको समस्याका कारण लिइएको अतिरिक्त शुल्क उद्योगीको नाफा नभई बाध्यात्मक परिस्थितिको उपज भएको बताएका हुन् ।

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको ढुवानीमा देखिएको समस्याका कारण लिइएको अतिरिक्त शुल्क उद्योगीको नाफा नभई बाध्यात्मक परिस्थितिको उपज भएको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेवन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। घिमिरेकाअनुसार प्रतिसिलिन्डर थप गरिएको १०५ रुपैयाँ उद्योगीको खातामा नजाने र त्यो रकम सिधै ढुवानीकर्ता (ट्रान्सपोर्टर) लाई भुक्तानी गरिने व्यवस्था गरिएको छ ।

बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा वैकल्पिक र लामो मार्ग प्रयोग गर्नुपरेकाले ढुवानी खर्च बढेको उनले बताए । राज्यले ढुवानीका साधन उपलब्ध गराएको खण्डमा यो शुल्क तत्काल फिर्ता लिन उद्योगीहरू तयार रहेको उनको भनाइ छ । उद्योगीहरूले उपभोक्ताको मर्का बुझेको उल्लेख गर्दै उनले उद्योगीले पाउने ‘पिडिओ प्राइस’ अन्तर्गतको ५७ पैसा समेत ट्रक व्यवसायीलाई नै छाडिदिएको जानकारी दिए । 

ग्यास आपूर्तिमा नेपाल आयल निगमसँग कुनै अवाञ्छित साँठगाँठ नभएको स्पष्ट पार्दै उनले यो निर्णय वि.सं. २०७८ को विनियममा टेकेर गरिएको बताए । उनले बजारमा अभाव सिर्जना गरी ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा हुने कालोबजारी रोक्न कानूनी रूपमै १०५ रुपैयाँ अतिरिक्त शुल्क लिएर आपूर्ति सहज बनाउनु उपयुक्त विकल्प भएको तर्क गरे । विगतका कोभिड महामारी, नाकाबन्दी र भूकम्प जस्ता संकटमा पनि उद्योगीहरूले सेवाभावले काम गरेको स्मरण गर्दै घिमिरेले अहिलेको कदमलाई पनि सोही रूपमा बुझिदिन आग्रह गरे ।

उनले जनप्रतिनिधि र सरोकारवाला निकायलाई सत्यतथ्य बुझिदिन आग्रह गर्दै आपूर्ति व्यवस्थालाई दुरुस्त राख्नु नै उद्योगीहरूको पहिलो प्राथमिकता रहेको बताए । उनले सरकारले ढुवानीमा अनुदान दिएमा उपभोक्तालाई अझै सहुलियत हुने समेत उल्लेख गरे ।