काँग्रेस सचेतक राईको प्रश्न - राज्य विधिबाट चल्छ कि पहुँचबाट ?
विधिको लागी आन्दोलनमा उत्रेका युवाहरुको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताए । उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाए ।
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सरकारलाई ‘जेन्जी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरुको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताए । उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाए ।
उनले रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरे । साथै विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरे । उनले मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएको पनि आपत्ति जनाए ।
उनले छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन सरकारसंग माग गरे। उनले स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरे ।
उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका यी तीनवटा विषय फरक देखिएपनि तिनको मूल प्रश्न एउटै रहेको उल्लेख गरे । उनले सरकारका मन्त्रीहरुले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरुप्रति पनि असन्तुष्टी जनाए ।
गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले प्रतिपक्ष सिक्न तयार रहेको बताए । तर विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त सिक्न तयार रहेको उनको भनाई छ । उनले प्रतिपक्षले सरकारको आलोचना र प्रश्न गर्न पाउने बताए । अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रमलाई स्वीकार गर्न नसकिने उनको भनाई छ ।
