स्रोत नखुलेको एक करोड ६७ लाख बढी रकमसहित तीन जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१-०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं । ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१-०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।