सुनको मूल्य एक सातामै २६ हजारले घट्यो, अझै केही महिना दबाबमा रहने संकेत
ब्याजदर र डलरको दबाबमा सुन, आगामी वर्ष मूल्य बढ्ने प्रक्षेपण
सुनको मूल्य निरन्तर घट्न थालेपछि यसको गिरावट अझै लम्बिने हो वा आगामी दिनमा पुनः उकालो लाग्ने हो भन्ने चासो बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी ब्याजदर, डलरको मजबुती, लगानीकर्ताको व्यवहार तथा भूराजनीतिक अवस्थाले सुनको मूल्यलाई प्रभावित गरिरहेका छन् ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामै प्रतितोला २६ हजार ३०० रुपैयाँले घटेको छ । गत आइतबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ शुक्रबारसम्म आइपुग्दा २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो । एक सातामा सुनको मूल्य करिब ९.६८ प्रतिशतले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घट्ने क्रम साताको सुरुदेखि नै सुरु भएको थियो । सोमबार प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको सुन मंगलबार २ लाख ६० हजार ९०० रुपैयाँमा आइपुगेको थियो । बुधबार थप घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार भने स्थिर रह्यो । शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँ घटेपछि सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो ।
गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । यो हालसम्मकै उच्च मूल्य हो । त्यसयता सुनको भाउमा ठूलो गिरावट आएको छ । पछिल्लो मूल्यसँग तुलना गर्दा उच्च बिन्दुबाट सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँले सस्तिएको छ ।
सुनको मूल्य निरन्तर घट्न थालेपछि यसको गिरावट अझै लम्बिने हो वा आगामी दिनमा पुनः उकालो लाग्ने हो भन्ने चासो बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी ब्याजदर, डलरको मजबुती, लगानीकर्ताको व्यवहार तथा भूराजनीतिक अवस्थाले सुनको मूल्यलाई प्रभावित गरिरहेका छन् ।
सुनको मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल, दैनिक ४० किलो कारोबार
सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा गहना किन्ने ग्राहकको संख्या बढेको छ। विशेषगरी विवाहको सिजन सुरु भएसँगै गहना किन्न आउने र मूल्य घटेको मौका छोपेर सुन सञ्चय गर्न चाहने ग्राहक बढेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अहिले बजारमा दैनिक करिब ४० किलो सुनको कारोबार भइरहेको छ । यसअघि अफसिजनमा दैनिक ४–५ किलोमा सीमित हुने कारोबार अहिले मुख्य सिजनको पुरानै स्तरमा पुगेको हो ।
मूल्य घट्दा विशेषगरी विवाहका लागि ५ देखि १० तोलासम्म सुन किन्नुपर्ने परिवारलाई राहत मिलेको शाक्य बताउँछन् । पहिले महँगो भएकाले खरिद नगरेका ग्राहकसमेत अहिले सुन किन्न थालेका छन् । पुरानो गहना बेचेर नयाँ बनाउनेभन्दा नयाँ सुन खरिद गर्ने ग्राहक बढी रहेको उनको भनाइ छ ।
तर बजारमा माग बढे पनि आपूर्ति सोहीअनुसार हुन सकेको छैन । अहिले दैनिक करिब ४० किलो सुनको कारोबार भइरहँदा बैंकमार्फत २५ किलो मात्रै आपूर्ति भइरहेको छ । दैनिक करिब १५ किलोको माग मौज्दातबाट पूर्ति गर्नुपर्ने अवस्था छ ।
अझै घट्न सक्छ सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारको पछिल्लो अवस्थाले सुनको मूल्यमा तत्काल थप दबाब पर्न सक्ने संकेत गरेको छ । अमेरिकामा ब्याजदर उच्च रहने अपेक्षा कायम रहेमा र अमेरिकी डलर थप बलियो भएमा सुनको आकर्षण घट्न सक्छ । त्यस्तै, लगानीकर्ताले नगद जुटाउन सुन बिक्री गर्ने क्रम बढाएमा मूल्य थप ओरालो लाग्न सक्ने विश्लेषण गरिएको छ ।
बेलायतस्थित वित्तीय बजार विश्लेषण कम्पनी सुक्डेन फाइनान्सियलले प्रतिऔंस ३ हजार ९०० डलरलाई सुनको महत्त्वपूर्ण आधार मानेको थियो । तर नोभेम्बर १८ मा सुनको मूल्य उक्त स्तरभन्दा तल झरिसकेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा बिक्रीको दबाब कायम रहेको संकेत गर्छ ।
अन्तर्राष्ट्रिय संस्थाका अनुमान फरक–फरक
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले तत्काल सुनको मूल्यमा दबाब रहने तर मध्यम तथा दीर्घकालमा पुनः सुधार हुन सक्ने आकलन गरेका छन् । गोल्डम्यान स्याक्सले सन् २०२६ अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार १५० डलर पुग्ने अनुमान गरेको छ । यसअघि उसले ४ हजार ६५० डलरको प्रक्षेपण गरेको थियो । त्यस्तै, सन् २०२७ अन्त्यसम्मको मूल्य अनुमान पनि ५ हजार ४०० डलरबाट घटाएर ४ हजार ८०० डलरमा झारेको छ ।
जेपी मोर्गन प्राइभेट बैंकले सन् २०२७ मा सुनको मूल्य प्रतिऔंस ४ हजार ६०० डलर पुग्ने अनुमान गरेको छ । उच्च ब्याजदर र बलियो डलरले तत्काल मूल्य बढ्न कठिन भए पनि भूराजनीतिक तनाव र केन्द्रीय बैंकहरूको खरिदले दीर्घकालमा सुनको माग बढाउन सक्ने उसको विश्लेषण छ ।
यता, युबिएसले सन् २०२७ सेप्टेम्बरसम्म सुनको मूल्य प्रतिऔंस ५ हजार ४०० डलर पुग्न सक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले भने सन् २०२६ मा औसत मूल्य ४ हजार ६०० डलर र सन् २०२७ मा ४ हजार २५० डलर रहने अनुमान गरेको छ । सन् २०२८ मा यस्तो औसत मूल्य ४ हजार डलरमा झर्न सक्ने उसको प्रक्षेपण छ ।
त्यस्तै, ओसिबिसी ग्रुप रिसर्चले पनि अमेरिकी ब्याजदर लामो समय उच्च रहन सक्ने भएकाले निकट भविष्यमा सुनको मूल्यमा दबाब कायम रहने जनाएको छ । यद्यपि, केन्द्रीय बैंकको खरिद, लगानीकर्ताको माग र भूराजनीतिक अनिश्चितताले मध्यम अवधिमा सुनलाई टेवा दिन सक्ने उसको विश्लेषण छ ।
ब्याजदर र डलरले निर्धारण गर्ने मूल्यको दिशा
सुनको मूल्यमा अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिले महत्त्वपूर्ण भूमिका खेल्छ । ब्याजदर उच्च हुँदा लगानीकर्ताले ब्याज आम्दानी हुने अन्य वित्तीय उपकरण रोज्न सक्ने भएकाले सुनको माग प्रभावित हुन्छ । तर ब्याजदर घट्न थालेमा सुनप्रतिको आकर्षण पुनः बढ्न सक्छ ।
त्यस्तै, विश्वका केन्द्रीय बैंकहरूले सुन खरिद गर्ने क्रम जारी राखेमा, भूराजनीतिक तनाव बढेमा र विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेमा सुनको मूल्यलाई दीर्घकालीन टेवा पुग्न सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि त्यसको प्रभाव पर्छ । तर नेपालमा सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारसँगै अमेरिकी डलरको विनिमय दर, आयातमा लाग्ने कर तथा अन्य लागतसमेत जोडिन्छन् । अन्तर्राष्ट्रिय बजारमा सुन सस्तिए पनि डलरको मूल्य बढेमा नेपालमा त्यसको प्रभाव कम देखिन सक्छ । यसको विपरीत डलर कमजोर भएमा नेपाली बजारमा सुनको मूल्य थप घट्न सक्छ ।
समग्रमा, पछिल्लो गिरावटलाई सुनको मूल्यको अन्तिम तल्लो बिन्दु मान्न सकिने अवस्था छैन । तत्काल अमेरिकी ब्याजदर र डलरको अवस्थाले मूल्यमा दबाब सिर्जना गर्न सक्ने देखिए पनि केन्द्रीय बैंकको खरिद, भूराजनीतिक जोखिम र लगानीकर्ताको मागले आगामी वर्ष सुनको मूल्यमा पुनः सुधार ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्थाहरूको प्रक्षेपण छ ।