नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, कुन–कुन क्षेत्रमा भयो सहकार्य ?

अन्तरिक्ष प्रविधि, स्वास्थ्य, कृषि, सुरक्षा र सहरी विकाससहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारी

काठमाडौं । नेपाल र भारत बीच ८ वटा सम्झदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । आज नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती सम्झदारी पत्रमा हस्ताक्षर भएका हुन् । दुवै देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तथा विधि विज्ञान, निजामती प्रशासन क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, दिगो सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको हो ।

यी हुन् नेपाल र भारतबीच भएका ८ समझदारी

१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।

२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ ।

३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन् ।

४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् ।

५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ ।

६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन् ।

७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन् ।

८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन् ।