१.९४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
बुधबार सेयर बजार सूचक नेपाल स्टक एटक एक्सचेन्ज (नेप्से) १.९४ अंकले घटेको छ । कारो बन्द हुँदा २.३५ अंकले बढेको भएपनि १५ मिनेटको औसत समायोजनपछि नेप्से घटेर २८३२.०६ अंकमा अडिएको हो । बुधबार नेप्से मात्रै घटेको छैन, निरन्तर कारोबार रकम घट्ने प्रबृत्तिलाई पछ्याएको छ ।
मंगलबार ९ अर्ब ३३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ९३ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड १६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा पछिल्लो ८ कारोबार दिनदेखि कारोबार रकम निरन्तर घट्दो क्रममा रहेको छ ।
यस दिन ३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । यस दिन सेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक सामान्य घटेको छ ।