नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट, ५ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच

शुक्रबार नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ । आज ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेर बन्द भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

शुक्रबार नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ ।

१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढ्दा नौ उपसमूहमा गिरावट आएको छ। वित्त उपसमूह सबैभन्दा बढी २.७७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । बिहीबार भने ४ अर्ब ७० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । 

आज पनि कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिटि होटलको साढे १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

शुक्रबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।