चार दिनको गिरावटपछि नेप्सेमा २.५७ अंकको सुधार, कारोबार रकम भने घट्यो

नेप्से परिसूचक २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ । आज ३५६ स्टकको ४९ हजार २४८ पटकको कारोबारमा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

काठमाडौँ ।  पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा बुधबार भने सामान्य सुधार देखिएको छ ।  आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ । 

१३ उपसमूहमध्ये बुधबार सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूह घटेका छन् । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक सामान्य अंकले बढेको छ । अन्य उपसमूहको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । आज ३५६ स्टकको ४९ हजार २४८ पटकको कारोबारमा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबरको ९२ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबार भने ६ अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बुधबार तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका सेयर सर्किट लेभलमा पुगेका हुन्। कारोबारमा आएको १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य आज सर्वाधिक ८.७१ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ४१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।  बुधबार कारोबारमा आएकामध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।