कुमारी बैंकको नाफा २ अर्ब नाघ्यो तर, वितरणयोग्य नाफा अझै ऋणात्मक

कुमारी बैंकको नाफामा उछाल आएको छ । अघिल्लो वर्ष ४६ लाख ८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको कुमारीले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ कमाएको छ । 

उच्च दरमा नाफा बढेपनि बैंकले सेयरधनीलाई भने लाभांस दिने क्षमता राख्दैन किनभने वितरणयोग्य नाफा अझ ऋणात्मक छ । अघिल्लो वर्ष ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । जवकी अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । बैंकको मूल्य आम्दानी अनुपात २७.२३ गुणा रहँदा प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ छ । 

नाफा बढेपनि बैंककोे खराव कर्जा भने झनै बढेको छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ । २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको कुमारीको जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ रुपैयाँ छ । 

गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ । अघिल्लो वर्ष बैंकले ३ खर्ब ३३ अर्ब ११ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६८ अर्ब ४३ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७३ प्रतिशत, आधार दर ६.४४ प्रतिशत रहेको छ ।